विराट राजाको दरबार : संरक्षणको पर्खाइमा

Aadil Times 1+ समाचार ( )
२७ वैशाख २०८०

बिराटनगरको दक्षिणी क्षेत्र अर्थात महेन्द्र चौक देखी करिब ११ किलोमिटर दक्षिणमा पर्ने भेडियारी भन्ने एउटा बस्ती छ । भेडा चराउनेहरु यो वस्तीमा बस्दै आएकाले यो वस्तीको नाम भेडियारी रहेको बताइएको छ ।  

यहि ठाँउमा रहेको एउटा अग्लो ढिस्को छ । यो त्यही माटोको ढिस्को हो जहाँ महाभारतकालीन विराट राजाको दरबार छ र चउरमुनि तत्कालीन राज्यका अवशेषहरू छन् भनी विश्वास गर्छन् । तिनै विराट राजाका नाउँमा विराटनगर सहर नामाकरण भएको कथा पनि सुनाउँछन् ।

पछिल्लो ५० बर्षको अवधिमा यहाँ दुइ पटक उत्खन्न भइसकेको छ । पुरातत्वविद तारानन्द मिश्रले आजभन्दा ५० वर्षअघि नै यहाँका विभिन्न ठाउँ उत्खनन गरेका थिए भने पछिल्लो समय अर्का पुरातत्वविद भाष्कर ज्ञवाली र उनको टिमले उत्खनन गरेका थिए । 

दुवै उत्खननमा फेला परेका माटो, ढुंगा र काठका सामग्री तथा प्राचीन सिक्का र मूर्तिहरूबाट के प्रमाणित भएको छ भने ,  भेडियारी क्षेत्रमा आजभन्दा दुई देखी तिन हजार वर्षअगाडि नै मानव बसोबास थियो । पुरातत्वविद भाष्कर ज्ञवालीले भनेका थिए , बसोबासको ढाँचा हेर्दा त्यो सानोतिनो गाउँ होइन, त्यति बेलाको व्यवस्थित सहरकै रूपमा विकसित थियो ।

अहिले यो क्षेत्रमा रहेको एतिहासिक तथा पुरातत्व विभागले समेत जगेरर्ना गर्नु पर्ने भनिएको किचक बध पोखरीको ५० मिटर पश्चिममा माटो उत्खन्न भइरहेको छ । जुन माटो नजिकै रहेको एकिकृत जाँच पास चौकि , आइसिपिमा लगिदै छ । २०० ट्रिपर भन्दा माथि उत्खनन भइसकेको छ । ट्रिपरले सडक बिग्रेको समेत स्थानीय बताँउछन् । भने वायु प्रदुशन समेत भएको छ । 

विराटनगरको विराट राजाको दरबार क्षेत्रमा सम्बन्धीत निकायको ध्यान जाओस । कुनै समय सो क्षेत्रका जग्गाहरु विराट राजाको दरबारको नाममा रहेको समयमा अहिले त्यो निजिकरण गरिदै छ । त्यहाँ रहेको किचक बध पोखरी जहाँ करिब १ करौडको बजेटले संरक्षण गर्ने योजना भइरहेको बेला पोखरीको करिब ५० मिटर पश्चिम १०० भन्दा माथि ट्रिपर माटोको उत्खन्न भइसकेको छ । अझै जारी छ । यो क्षत्रलाई संरक्षण गर्ने निकायहरुलाई जानु जरुरी छ । 

अहिले यी यस्तैको कारण त्यहाँ रहेको अवशेषहरु समेत विलिन हुँदै गएको छ । माटो उत्खन्न गरेको स्थान देखी ५० मिटर पश्चिम नै विराट राजाको दरबारको किचक बध पोखरी छ । त्यही दरबारको नाममा रहेको १८ कठा जगा पनि छ । 

उक्त बिराट राजाको दरबार क्षेत्र बाट थुप्रै आभुषणहरु , भाडा बर्तनहरु  निस्केको छ । आजभन्दा  दुइ तिन हजार वर्षअगाडि यस क्षेत्रमा जुन राजाले शासन गर्थे, तिनको नाम पनि विराट नै भएको स्थानीय बताँउछन् । 

प्रदेश सरकारदेखि विराटनगर महानगरपालिकाको विकास योजनामा समेत ‘विराट राजाको दरबार जोगाउने’ योजनाले महत्व पाउँछ । दरबार संरक्षणको कुरा हरेक पाँच वर्षमा चुनावी मुद्दा बन्छ । तर यति नै महत्व दुई हजार वर्ष पुरानो प्राचीन बसोबास, त्यतिखेरका सम्पदा स्थलहरू र तिनको संरक्षणले पाइरहेको छैन ।

महाभारतकालमा युद्ध लड्नु र जुवा खेल्नुलाई क्षत्रीय धर्म मानिन्थ्यो। कसैले युद्धको हाँक दियो वा जुवाको खालमा बस्न लल्का¥यो भने त्यसलाई अस्वीकार गरेर हिँड्ने छुट क्षत्रीयहरूलाई हुँदैनथ्यो। महाभारत कथाअनुसार पाण्डव पक्षका सबभन्दा जेठा दाजु युधिष्ठिर आफैंमा जुवाप्रेमी थिए। उनको जुवामोह महाभारतमा बारम्बार प्रकट भएको छ । हस्तिनापुर राजसभामा युवराज दुर्योधनसहित कौरव पक्षसँग जुवा खेल्दा युधिष्ठिरले आफ्नो सर्वस्व हार्नुप¥यो । कौरवहरू सधैं पाण्डवहरूलाई राजपाठबाट बेदखल गर्न मौका ताकिरहन्थे। यही क्रममा उनीहरूले जुवा हारेका पाण्डवहरूलाई बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासमा पठाए।

गुप्तवास बसेका बेला पाण्डवहरूको पहिचान भयो वा उनीहरू लुकेको ठाउँ पत्ता लाग्यो भने त्यही क्षणबाट पुनः बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवास बस्नुपर्ने सर्त थियो।

वचनका पक्का युधिष्ठिरले आफ्ना चार भाइ भीम, अर्जुन, नकुल, सहदेव र पत्नी द्रौपदीसहित बाह्र वर्षको वनवास त पूरा गरे तर एक वर्षको गुप्तवास कहाँ बस्ने होला भन्ने अन्यौल थियो। उनीहरू यस्तो ठाउँमा गएर बस्न चाहन्थे जहाँ कौरवहरूको छायाँ पनि नपुगोस्।

वर्षदिनसम्म कौरवहरूबाट जोगिएर बस्ने ठाउँको खोजीमा उनीहरू विराट राजाको ‘मत्स्य देश’ पुगे। वरिपरि घना जंगलले ढाकिएको र हस्तिनापुरबाट निकै टाढाको यो राज्यमा कौरव र उनीहरूका गुप्तचरको नजर पर्दैन भन्ने निर्क्यौल गर्दै पाण्डवहरूले भेष बदलेर त्यहीँ आफ्नो गुप्तवास सुरू गरे।

यस क्रममा युधिष्ठिरले ‘कंक’ नाम धारण गरेका थिए। कंकका रूपमा उनी राजा विराटसँग जुवा खेल्ने र राज्य सञ्चालनमा सरसल्लाह दिने काम गर्थे। उनी विराट राजाको सेनालाई कुस्ती सिकाउँथे र भोजन बनाउने काममा पनि खटिन्थे।

यसरी पाण्डवहरूले आफ्नो एकवर्षे गुप्तवास काट्न रोजेको विराट राज्य नै अहिलेको विराटनगर हो र भेडियारी त्यसको राजधानी हो भन्ने यहाँका स्थानीयको जनविश्वास छ ।

यो विश्वास यति गहिरो छ, उनीहरू इतिहासको प्रमाणित तथ्यलाई बरू त्यति महत्व दिँदैनन्, जति आफ्नो विश्वासलाई दिन्छन्। त्यसैले महाभारत कथालाई आफूसँग जोड्न भेडियारीमा अनेकौं किम्बदन्ती प्रचलित छन् । ती किम्बदन्तीले विराट राजाको विराट स्वरूप निर्माण गरेको छ ।

विराट राजाको दरबार संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले सुनाएको कथाअनुसार त्यो बेला मत्स्य देश उत्तरमा धरानको विजयपुरदेखि दक्षिणमा गंगा नदीको तटसम्म फैलिएको थियो। पाण्डवहरू भेष बदलेर विराट राजाको दरबारमा बस्दा उनीहरूले प्रयोग गरेका विभिन्न पोखरी, इनार र पूजास्थलका अवशेष अहिले पनि भेडियारी क्षेत्रमा बाँकी रहेको यादव बताउँछन् ।

पुरातत्व विभागले उत्खनन गरेको ढिस्कोलाई राजा विराटको दरबार क्षेत्र भनिएजस्तै उत्खननस्थलबाट करिब चार सय मिटर उत्तरपश्चिममा रहेको ग्राम देउताको थानलाई विराट राजा र पाण्डवहरूको पूजास्थल मानिन्छ। त्यहाँबाट पनि अझै उत्तरतिर नृत्यशाला रहेको विश्वास गरिन्छ ।

भेडियारी क्षेत्रमा करिब एक दर्जन साना–ठूला जलाशय छन्। तीमध्ये धेरै त अहिले संरक्षण अभावमा झाडीले झ्याम्म छोपिएका छन्। कतिपय पोखरीमा एक थोपा पानी छैन भने कतिपय पोखरी छिपछिपे दलदलमा परिणत भएका छन्। आफूलाई विराट राजाको सहर भनेर गर्व गर्ने विराटनगर महानगर र प्रदेश सरकारले दुई हजार वर्ष पुरानो कथा–किम्बदन्ती जोडिएका यी सम्पदा स्थलहरू संरक्षणको लगानीमा छटपटाइरहेको छ । यहाँ बाहिरी सतहमा नदेखिएको विराट राजाको दरबार संरक्षण गर्ने कुरा चुनावी मुद्दा बन्छ तर भौतिक रूपले नै उपस्थित पोखरीहरूको संरक्षणमा स्थानीय र प्रदेश सरकारको ध्यान जाँदैन । 

विराटनगरको ऐतिहासिक अभिलेख राख्ने क्रममा यी साना–ठूला जलाशयहरू यस कारण पनि महत्वपूर्ण छन्, किनभने यी जलाशयका आ–आफ्नै कथा यहाँका जनताको स्मरणमा बाँचेका छन् ।

उत्खननस्थलबाट जम्मा ४० मिटर दक्षिणमा पर्दो रहेछ धरवा पोखरी ।

साढे १८ कठ्ठा क्षेत्रफलमा फैलिएको धरवा पोखरीलाई विराट राजाको धरोहर मानिन्छ । यसलाई स्थानीयहरू धरोहर पोखरी पनि भन्छन् । विराट राज्यका बासिन्दालाई जब घरमा पाहुनाहरू आउँदा अतिरिक्त भाँडाबर्तन चाहिन्थ्यो, उनीहरू यही पोखरीनजिक आउँथे र आफूलाई चाहिएका भाँडाबर्तन दरबारसँग माग गर्थे। पाहुना विदा भएपछि भाँडाबर्तन दरबारलाई फिर्ता गर्नुपर्ने नियम थियो।

राजदरबारमा प्रयोग हुने भाँडाबर्तन बहुमूल्य हुन्थे। त्यस्ता बहुमूल्य सामान आफ्नो आवश्यकताअनुसार लैजाँदै, चलाउँदै गर्न थालेपछि मान्छेहरू क्रमशः लोभिँदै गए। अरू बेला काम सकिनेबित्तिकै ती सामान फिर्ता दिने सर्वसाधारणले बिस्तारै फिर्ता गर्न छाड्दै गए। ज–जसले लगे, उनीहरूले दरबारका भाँडाबर्तन आफूसँगै राख्न थाले।

यसरी दरबारका भाँडाबर्तन जनताका घरघरमा थुप्रिन थालेपछि राजपरिवारलाई नै आफ्नो भान्सा चलाउन समस्या हुँदै गयो। अन्ततः दरबारको धरोहर रित्तियो।

भेडियारी उत्खननस्थलबाट करिब एक किलोमिटर पूर्व एउटा अर्को पोखरी छ जसलाई ‘किचकवध पोखरी’ भनिन्छ। गुप्तवास बस्ने क्रममा भीमले किचकको वध गरेर उनको शव यही पोखरीमा अन्त्येष्टि गरेको भनाइ छ। किचकको शव अन्त्येष्टि गरेकैले यो पोखरीको नाउँ किचकवध रहन गएको स्थानीय विश्वास गर्छन्।

विराटनगरको भेडियारीमा रहेको किचकवध पोखरी । महाभारतमा भीमसेनले किचकलाई मारेर यही पोखरीमा अन्त्येष्टि गरेको जनविश्वास छ ।

तीन बिघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो पोखरीको सुन्दरता पनि स्थानीयको स्मरणमा मात्र बाँकी छ । घाँसैघासले टम्म ढाकिएको किचकवध पोखरीमा हिजोआज नाम मात्रको छिपछिपे पानी देखिन्छ ।

भेडियारी क्षेत्रमा रहेको अर्को पोखरी ‘भन्सिया पोखरी’ हो। उत्खननस्थलबाट सात सय मिटर पूर्वमा रहेको यो पोखरी १९ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ।

यो पोखरी विराट राजाका पालामा भातभान्सा निम्ति प्रयोग हुने जनविश्वास छ। पाण्डवहरूले समेत गुप्तवास बस्दा आफ्नो भातभान्साको काम यही ठाउँमा गरेको भनाइ छ। त्यही भएर यसलाई ‘भन्सिया पोखरी’ भनिएको स्थानीय बताउँछन्।

भन्सिया पोखरीसँगै अर्को पोखरी छ जसको नाउँ ‘थरधुवा पोखरी’ हो। राजा विराटको भान्सामा प्रयोग हुने भाँडाबर्तन यही पोखरीको पानीले माझ्ने गरिन्थ्यो भन्ने किम्बदन्ती छ। पाण्डवहरूले पनि आफ्नो भातभान्सा सकेपछि यही पोखरीमा भाँडा माझ्ने गरेको कथा अहिले पनि स्थानीय सुनाउँछन्।

कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । 

विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली सेनाले सङ्ग्रहालयको रुपमा स्थापित गरी ऐतिहासिक सम्पदाको संरक्षण, सम्बर्धन र प्रचारप्रसारको अभियानको कामलाई अगाडि बढाएको हो । 

नेपाली सेनाले विराट राजाको दरबार क्षेत्रलाई समेटेर निर्माण गरेको विराट राजा दरबार सङ्ग्रहालयको आइतबार सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले उद्घाटन गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरणसमेत गर्नुभएको छ । 

पृतनापति उपरथी तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । 

सेनाले निर्माण गरी महानगरपालिकालाइ हस्तान्तरण भएको विराट राजा दरबार संग्राहलय आजैबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ । 

ऐतिहासिक सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचीन विराट राजा दरबार संग्राहालय भवन सेनाको भैरव दल गणले निर्माण हस्तान्तरण गरेको हो । नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत १९ लाख ७५ हजारको लागतमा संग्रहालय भवन निर्माण भएको हो  I


प्रतिक्रिया