विराट एक्स्पो उपभोग्य वस्तु र खानामा आकर्षण

Aadil Times 1+ समाचार ( )
३ पौष २०७९

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोको तेस्रो दिन उपभोग्य वस्तु र खानाका परिकार राखिएका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखियो ।

पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा बजारभन्दा केही सस्तोमा उपभोग्य वस्तु पाइएको अवलोकनकर्ताहरुले बताएका छन् । उनीहरुले विगतको एक्स्पो भन्दा फरक ढंगको रुपमा यस पटक एक्स्पो रहेको बताएका हुन् ।

यस अघिका एक्स्पोमा सामान किन्ने र बेच्नेको मात्रै भीड रहन्थ्यो । तर, यस पटक फरक किसिमका स्टल रहेको पाइएको विराटनगर–७ का अनिष अर्यालले बताए ।

एक्स्पोमा बजारको भन्दा उपभोग्य वस्तु सस्तो रहेको बताउँदै, अनिष अर्यालले भने, ‘विगतमा एक्स्पो (मेला)मा सामान खरिद बिक्रीका साथै रोटेपिङ लगायतका खेल्ने हुन्थ्यो । यस पटक त्यो बाहेक नयाँ किसिमका योजनाहरुको स्टल रहेको पाएँ ।’

यहाँ व्यापार व्यवसाय गर्नका लागि आवश्यक परामर्श लगायत अन्य नयाँ व्यापार व्यवसायको सम्भावनाको क्षेत्र बुझाउनका लागि छुट्टै स्टल रहेको अर्यालले बताए ।

एक्स्पो कस्तो रहेछ भनेर हेर्न आएको बताउँदै, इटहरीबाट आएकी सिर्जना पोखरेलले भनिन्, ‘यस अघि लाग्दै आएको एक्स्पो र अहिलेको एक्स्पोमा धेरै फरक रहेको भेटाएँ । हामी गृहणीहरुको मुख्य आकर्षण नै दैनिक उपभोग्य वस्तु हो ।

त्यो बजारभन्दा सस्तो छ कि छैन भन्ने नै हुन्छ । यहाँ रहेको उपभोग्य वस्तु र घरमा प्रयोग हुने वस्तु बजारको भन्दा केही सस्तो रहेको पाएँ ।’

त्यसैगरी, एक्स्पोमा रहेको विभिन्न किसिममा खानाका स्टल पनि अवलोकनकर्ताहरुको अर्को आकर्षण रहेको छ । यहाँ स्थानीय स्वादका खानाहरु रहेकाले पनि त्यसको आकर्षण रहेको हो ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गरेका थिए ।

त्यसैगरी, आइतबार प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्ष, पर्यटन प्रवद्र्धन के गर्ने के नगर्ने, पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका, बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल हुनेछ ।

दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय गायकहरुको प्रस्तुति रहने छ । आइतबार मिस्टर डि ¥यापरको प्रस्तुति रहने छ । महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया