विराटनगरमा फुटपाथ खाली गराउदै

Aadil Times 1+ समाचार ( )
९ मंगशिर २०७९

विराटनगरमा अतिक्रमण हटाएर फुटपाथ खाली गराउन महानगर सक्रिय बनेको छ ।

विराटनगरको सौन्दर्यकरण र पैदलयात्रीको सहजताका लागि महानगरपालिकाले फुटपाथ खाली गराउन थालेको हो । मेनरोडबाट फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरिएको छ ।

बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै महानगरपालिकाले गत कात्तिक ३ गते ३५ दिने सूचना सार्वजनिक गरेको थियो । साथै सटरभन्दा बाहिर पसल नराख्न र फुटपाथ अतिक्रमण नगर्न आग्रह गर्दै महानगर प्रहरीले माइकिङसमेत गरेको थियो ।

व्यापारीबाट फुटपाथको अतिक्रमण नरोकिएपछि विराटनगर बजारलाई व्यवस्थित बनाउन महानगर सक्रिय भएको हो । महानगरले फुटपाथ ओगटेर पसलबाहिर राखेका किराना सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सामान जरिवाना तिराएर मात्रै छाडिने मेयर नागेश कोइरालाले बताए । विराटनगरलाई साँच्चिकै महानगर जस्तो बनाउन कुनै कसर बाँकी नराखिने उनको भनाइ छ । ‘विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो,’ कोइरालाले भने, ‘उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।’

महानगर प्रहरीका प्रमुख राजन पौडेलले बजारको सौन्दर्यकरण र यात्रुलाई हिँड्न सहज होस् भनेर फुटपाथ खाली गराउन थालिएको जानकारी दिए । महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यकरण बढाउने अभियान सकारात्मक भएको प्रतिक्रिया स्थानीयले दिएका छन् ।

तर महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा उनीहरुको जोड छ । व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसित आग्रह गरेका छन् । ‘महानगरको यो अभियान एकदमै राम्रो छ । तर कसैका सामान हटाउने र कसैका नहटाउने गर्नु हुँदैन । नियम सबैलाई समान हुनुपर्छ । सामान हटाउन केहीदिन समय दिनुपर्छ,’ स्थानीय व्यापारी शंकर साहले भने ।

नगर प्रहरी निरीक्षक पौडेलका अनुसार पहिलोपटकका लागि महानगर प्रहरी आफैँले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रणमा लिइने छ । महानगरले दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले बताए ।

नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृह छेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीहरुले जरिवाना तिरेर लैजाने गरेका छन् ।

महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डलले बताए । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया