अमेरिकाको क्यालिफोर्नियामा वर्षा र आँधीका कारण जनजिवन प्रभावित

Aadil Times 1+ समाचार ( )
२ माघ २०७९

अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि वर्षा र आँधी जारी रहेको बताइएको छ । सोमबार पनि यहाँ थप वर्षा, आँधी र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन ।

यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट  ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ ।

नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ । यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ ।


 


प्रतिक्रिया