श्रीमानको छुरा प्रहारबाट श्रीमति घाइते

Aadil Times 1+ समाचार ( )
३ चैत्र २०७९

श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी झापाको कनकाई ३ कालिस्थानकी ३८ वर्षीया विना लिम्बू अहिले उपचार नपाएर छट्पटाइरहेकी छन् ।

कन्काई ३ भीमसेनस्थानमा डेरा गरी बस्ने पदमबहादुर कुमालले प्रेम विवाह गरेको ७ महिनामा श्रीमतिमाथि छुरा प्रहार गरेका थिए ।श्रीमानले मादक पदार्थ खाएर विनासँग दिनहुँ झैझगडा गर्ने र कुटपिट गर्ने क्रममा पछिल्लो पटक गत फागुन २४ गते पेटमा छुरा र टाउकोमा फलामको घनले प्रहार गरेर घाइते बनाएका थिए । बेलाखखत झगडा हुँदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बूले आएर सम्झाईबुझाई गर्ने गरेकोमा पछिल्लो पटक उनीमाथि गम्भीर आक्रमण भएको थियो ।

स्थानीय मेघराज पाठकका अनुसार घट्नापछि पदमबहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ । विना भने उपचार अभावमा मृत्युसँग पैठेजोरी खेल्दै आएकी छन् ।

कनकाई नगरपालिका २ सुकेडाँगीमा डेरा गरि बसेको कुमाल परिवारले जनमन गर्दै आएको थियो । हतियार प्रहार गर्ने पदमबहादुरलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । घाइते विनालाई स्थानीय गाउँले र घाईतेका दाजु भाउजुले चन्दा संकलन गरेर केहि दिन झापा र धरानको घोपामा लगेर उपचार गराएका थिए ।

थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर राखिएको घाइतेकी भाउजु निर्मला लिम्बूले बताइन् । सोमबहादुर पनि जनमन गरेर परिवार पाल्दै आएको र गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नुपरेको घाइतेका दाजु लिम्बूले बताए ।उपचार अभावमा घाईतेको अवस्था नाजुक बनिरहेको आफन्तको भनाइ छ । टाउकोको घाउ कानतिर सर्दै कालो रगत आइरहेको बताइएको छ । पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गरेका छन् ।

सहयोग गर्न चाहनेले विनाका दाजु सोमबहादुर लिम्बूको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न सकिनेछ । यस्तै विना बचाऊ अभियानको नेतृत्व गरिरहेका स्थानीय युवा मेघराज पाठकको नाममा रहेको सनराईज बैँक लिमिटेड सुरुङ्गा झापाको खाता नम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिन स्थानीयले आग्रह गरेका छन् ।

प्रतिक्रिया