फोहोरमा सङ्घीय सरकार–स्थानीय टकराव

Aadil Times 1+ समाचार ( )
२७ चैत्र २०७९

सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाबीचको टकरावका कारण सङ्घीय राजधानी काठमाडौंको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यस्थापन ठप्प भएको छ।

आपसी टकरावका कारण मुलुकको राष्ट्रपति कार्यालय, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, मन्त्री निवास, प्रतिनिधि सभा सभामुखको निवास, राष्ट्रिय सभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवासको फोहोर तीन दिनदेखि व्यवस्थापन हुन सकेको छैन।

यी अति विशिष्ट कार्यालयको फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई काठमाडौं महानगरपालिकाले फोहोर नउठाउन निर्देशन दिएपछि कम्पनीले तीन दिनदेखि फोहोर व्यवस्थापन गर्न छोडेको हो।

परिवर्तन सेवा प्रालि भन्ने संस्थाले यी अति विशिष्ट कार्यालय र निवासको फोहोर व्यवस्थापन गर्दै आएको छ।

परिवर्तन सेवा प्रालिको प्रमुख व्यवस्थापक मित्रप्रसाद घिमिरेले काठमाडौं महानगरपालिकाबाट राष्ट्रपतिको कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत अति विशिष्ट कार्यालय तथा निवासको फोहोर व्यवस्थापन नगर्न आएको निर्देशनपछि आफूहरूले फोहोर व्यवस्थापनको काम बन्द गरेको स्पष्ट पारे।

काठमाडौं महानगरपालिकाबाट यी कार्यालयको फोहोर उठाएमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने तथा व्यवसाय इजाजतपत्रसमेत रद्द गर्ने चेतावनी आएपछि तरवारको धारमा टेकेर काम गर्न नसक्ने भएकाले बाध्य भएर आफूहरूले फोहोर व्यवस्थापन कार्य बन्द गर्नुपरेको उनले बताए।

फोहोर उठाउनका लागि सोमबार राष्ट्रपतिको कार्यालयबाट फोन आए पनि आफूहरूले फोहोर व्यवस्थापन गर्न नसकेको प्रमुख व्यवस्थापक घिमिरेको भनाइ छ।

तीन दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा मुलुकको सर्वोच्च निकाय राष्ट्रपतिको कार्यालय दुर्गन्धित बन्दै गएको छ।

२५० जना जनशक्ति रहने राष्ट्रपतिको कार्यालयमा उत्सर्जन भएको फोहोरको व्यवस्थापन हुन नसक्दा त्यहाँको वातावरण नै प्रदूषित बन्दै गएको हो। 

प्रतिक्रिया