हेटौँडा सुस्मिता केसी हत्या प्रकरणः सासू–ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद

Aadil Times 1+ समाचार ( )
७ माघ २०७९

जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका(४ की २४ वर्षीया सुस्मिता केसीको हत्या परिवारबाटै भएको ठहर गर्दै सासू(ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेल नेतृत्वमा हिजो शुक्रबार बसेको इजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।

सुस्मिताको २०७७ असार १ गते राति हेटौँडा उपमहानगरपालिका(४ कर्रास्थित घरमा बीभत्स ढङ्गले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिँध्ने लोहोरोले टाउकोमा हानेकी थिइन् । भान्सामा बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।

कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरूको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया