गोठलापानी बजारमा ‘हर्न’ बजाउन निषेध

Aadil Times 1+ समाचार ( )
१७ पौष २०७९

बैतडी केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई पहिलोपटक हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।

बढ्दो ध्वनि प्रदूषणलाई कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनि प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ । नियमको पालना नगरेको पाइएमा तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रशासनले जनाएको छ । 

ध्वनि प्रदूषणमुक्त बनाउने उद्देश्यले सुरुमा गोठलापानी बजार क्षेत्रमा लागू गरिएको र विस्तारै जिल्ला अन्य बजारमा पनि लागू गरिने उनको भनाइ छ । बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउन सर्वपक्षीय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको यसलाई पूर्णरूपमा कार्यान्वयनका लागि सरोकारवाला सबैको सहयोगको खाँचो रहेको प्रजिअ पन्थीले बताए । उनले भने, “ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि गोठलापानी बजार क्षेत्रमा हर्न बजाउन नपाइने निर्णय गरिएको छ, कार्यान्वयनमा सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौँ ।


प्रतिक्रिया