विदेशमा रहेका अयोग्य लडाकुले जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख पाउने

Aadil Times 1+ समाचार ( )
६ वैशाख २०८०

विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् ।

मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने कानुनबमोजिम निजको नजिकको हकदारले उक्त राहत रकम पाउने भएका छन् ।

गृह मन्त्रालयले बुधबार सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०७९ जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कार्यविधिको परिच्छेद ३ को दफा ४ को उपदफा ४ मा ‘अयोग्य लडाकु हो भनी पहिचान भएको तर निज हाल नेपालमा नरहेको अवस्था भएमा निज नेपालमा आएको बखत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट दुई लाख राहत उपलब्ध गराउनेछ’ भन्ने उल्लेख छ ।

त्यस्तै, सोही परिच्छेदको उपदफा ५ यसरी उपलब्ध गराइने राहत रकम पहिचान भएका अयोग्य लडाकुको खातामा जिल्ला प्रशासन कार्यालयले जम्मा गर्ने र यसरी उपलब्ध गराएको राहत रकमको विवरण जिल्ला प्रशासन कार्यालयले मासिक रुपमा गृह मन्त्रालयमा पठाउने उल्लेख छ ।

यसअघि कार्यविधिको अभावमा अयोग्य लडाकुहरूलाई रकम वितरण गर्न समस्या परेको थियो । लडाकुले नागरिकता प्रमाणपत्रबमोजिम लडाकुको वास्तविक नाम, थर र ठेगानासमेतका आधारमा अयोग्य लडाकु हो भनि पछिसम्म फरक नपर्ने गरी एकिन र पहिचान गरेर गृह मन्त्रालयमा पठाउनेछ ।

सो प्रमाणपत्रको आधारमा गृह मन्त्रालयले अयोग्य लडाकुको विवरण प्रमाणीकरण गरी स्वीकृत गरेपछि जिल्ला प्रशासन कार्यालयले २ लाख रुपियाँ सम्बन्धित अयोग्य लडाकु वा प्रमाणित भएका आफन्तको खातामा दिने व्यवस्था कार्यविधिले गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार