टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

Aadil Times 1+ समाचार ( )
२६ मंगशिर २०७९

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ ।नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गरयौँ उनले भने, “अब नियमित रिफ्युलको कार्य हुनेछ ।

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौँबाट इन्धन बोकेर आउनुपथ्र्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । “यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौँबाटै ल्याउनुपर्ने हुन्थ्यो”, उनले भने, “अब भने त्यो समस्या हट्नेछ ।” इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुरयाउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए । “हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ”, उनले भने, “कहिल्यै नेपाली सेनाको हेलिकप्टर आकस्मिक रुपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं ।

विगत छ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो । यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो । यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुइनेटर जहाज सञ्चालनमा छ ।


प्रतिक्रिया