अन्नपूर्ण म्याराथनको उपाधि जित्ने जुम्लाका मामा-भाञ्जी

Aadil Times 37+ समाचार ( )
२१ जेठ २०८०

जुम्लाको कनकासुन्दरी-१ का धिराबहादुर बुढा र गणना भण्डारी सानैदेखि जोखिमयुक्त उच्च हिमाली क्षेत्रमा अभ्यस्त थिए। उच्च हिमाली गाउँमा जन्मे हुर्केको भएर आफूहरूका लागि हिउँ र हिमाली अप्ठ्यारा सामान्य भएको उनीहरू बताउँछन्।

‘तलतिर पानी पर्दा हाम्रो गाउँमा हिउँ पर्छ,’ गणनाले भनिन्, ‘हाम्रो ठाउँ र अन्नपूर्ण आधार शिविर (४१३० मि) उस्तै-उस्तै हो।’

शुक्रबार साँझ घान्द्रुकमा झरी परेको थियो। घान्द्रुकमा झरी पर्दा अन्नपूर्ण आधार शिविरमा हिउँ परेछ। म्याराथन दौडिन शुक्रबार साँझ अन्नपूर्ण आधार शिविर पुगेका धिराबहादर र गणना शनिबार दौडिएर घान्द्रुक आइपुगे।

‘हिउँले गर्दा बाटो चिप्लो थियो, दौडिन गाह्रो त हुन्छ नि,’ धिराबहादुरले सेतोपाटीलाई भने, ‘हाम्रो गाउँमा पनि यस्तै हो, स्कुल जाँदा पनि हिउँमा चिप्लिँदै जानुपर्छ।’

अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म ४२.९८ किलोमिटर म्याराथन दौडमामा पुरूषतर्फ धिराबहादुर प्रथम भए। महिलातर्फ गणना प्रथम भइन्। उनीहरू एउटै गाउँका मात्र होइन, नाताले मामा भाञ्जी पनि हुन्। यसअघि अल्ट्रा म्याराथन दौडिरहेका दुबै जनाले पहिलो पटक हाई अल्टिच्युड फुल म्याराथन दौडिएर प्रथम स्थान हासिल गरे।

प्रतियोगितामा ४४ जनाले भाग लिएका थिए। जसमा पुरूषतर्फ ३० र महिलातर्फ ८ जनाले मात्र पूरा दौड दौडिए।

प्रथम भएका धिराबहादुरले उक्त दूरी ४ घन्टा १० मिनेट ५१ सेकेन्डमा पार गरे भने गणनाले ५ घन्टा ४३ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गरिन्।

प्रतियोगितामा नेपाली सेनाका धावक होमलाल श्रेष्ठले ४ घन्टा १२ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए भने सेनाकै बेदबहादुर सुनुवारले ४ घन्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हाँसिल गरे।

महिलातर्फ धादिङकी रशिला तामाङले ६ घन्टा ५ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भइन् भने ओखलढुङ्गाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेन्ड लगाएर तेस्रो स्थान ओगटिन्।

हाई अल्टिच्युड म्याराथनमा पुरूषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन्। यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार पाए।

पैदल यात्रा गर्दा घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर पुग्न तीन दिन लाग्छ। बाटामा आउने उकालो, ओरालो, हिमपहिरोलगायत अप्ठ्यारो सामना गर्नुपरेको धावकहरूले बताए। आयोजकले राम्रो व्यवस्थापन गरेका कारण उच्च हिमाली क्षेत्रमा भएको म्याराथनमा कुनै अप्रिय घटना नभएको प्रथम भएका धिराबहादुरले बताए।

म्याराथन दौडिन उनलाई प्रशिक्षक हरि रोकाले प्रेरणा दिएका थिए भने गणनालाई मामा धिराबहादुरले। प्लस टु सकेर घरमै बसिरहेका बेला २०७१ सालमा जुम्लादेखि रारातालसम्म म्याराथन दौड प्रतियोगिता भएको उनले थाहा पाए। उनले ‘यत्तिकै’ आफूले नाम दर्ता गरेको बताए।

जब दौड भयो, हिराबहादुर दोस्रो स्थानमा आइपुगे।

‘त्यसपछि मलाई भित्रैदेखि जिज्ञासा जाग्यो, म पनि दौडिन सक्ने रहेछ, मेरो पनि क्षमता रहेछ,’ उनले भने, ‘मैले सक्छु भनेर म्याराथनमै लागें।’

त्यसपछि २०७५ सालमा ताप्लेजुङमा अल्ट्रा म्याराथन भएको थापा पाए। त्यहाँ पनि दौडिन पुगे। तर उनी उक्त दौडमा पाँचौं स्थानमा पुगे। फेरि सिन्धुपाल्चोकको पाँचपोखरीमा पनि म्याराथन दौडिन पुगे। त्यतिबेला भने आफू प्रथम भएको धिराबहादुरले बताए।

धिराबहादुर पोखरामा २०७६ सालमा ‘द नर्थ फेस’ले आयोजना गरेको म्याराथन दौडिन आइपुगेका थिए। उक्त खेलमा पनि उनले उपाधि जितेका थिए। यसअघि अल्ट्रा म्याराथन दौडिँदै आएका धिराबहादुरले पहिलो पटक अन्नपूर्ण बेसक्याम-घान्द्रुक फुल म्याराथन दौडिएको बताए। उच्च हिमाली क्षेत्रमा भएको फुल म्याराथनमा प्रथम भएसँगै उनले अब अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिने सपना देखेका छन्।

‘अब नियमित तालिम लिन्छु, कर्णालाीबाट यहाँसम्म आइपुगे,’ ३१ वर्षीय धिराबहादुरले भने, ‘अब अन्तर्राष्ट्रिय म्याराथन दौडिएर देशको नाम राख्न मन छ।’

जुम्लाकै गणनालाई म्याराथन दौडिन भने मामा धिराबहादुरले नै डोर्‍याइरहेका छन्। जुम्लादेखि रारातालसम्मको म्याराथनमा पनि मामाले कुद्न जाउँ भाञ्जी भनेर लगेको उनले बताइन्। त्यतिबेला उनी दोस्रो भएकी थिइन्।

जुम्लादेखि रारासम्मको म्याराथन दौडिएकी गणनाले त्यसपछि राराताल वरिपरि अर्को म्याराथन दौडिन्। उनका लागि अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको म्याराथन तेस्रो दौड हो।

यसअघि दौडिएका म्याराथनभन्दा यसपालि बढी गाह्रो भएको उनले बताइन्। उकालो र ओरालो धेरै भएकाले गाह्रो भएको उनको भनाइ छ।

अन्नपूर्ण अधार शिविरबाटै सबैभन्दा अगाडि दौडिरहेकी गणनालाई अन्तिम विन्दु घान्द्रुकसम्म महिलातर्फ कसैले उछिन्न सकेनन्। धिराबहादुर भने छोम्रोङको उकालोमा आइपुगेपछि मात्र अरूलाई जितेका थिए। यसअघि धिराबहादुर कहिले पाँचौं त कहिले आठौं स्थानमा दौडिरहेका थिए।

प्लस टु सकेर म्याराथन दौडिरहेकी २० वर्षीय गणनाले पनि कुनै तालिम नलिएको बताइन्। आगामी दिनमा म्याराथन दौडलाई निरन्तरता दिने कि नदिने उनी दोधारमा छिन्।

‘दौडिँदा त दु:ख हुन्छ नि, छोडौंजस्तो लाग्छ,’ उनले भनिन्, ‘खुसी लाग्ने दौड जितेपछि हो, तर तालिम पनि छैन केही पनि छैन के गर्ने के।’

धिराबहादुर भने अहिलेसम्म म्याराथन दौडमै भविष्य देखिरहेका छन्। सरकारका तर्फबाट खेलाडीलाई कुनै राहत नहुनु दु:खद भएको उनले बताए।

‘हामीलाई तालिम र डाइटको व्यवस्था सरकारले गरिदिने हो भने हामीले धेरै दौड जित्थ्यौं,’ उनले भने, ‘देश चिनाएका खेलाडी भने विदेशमा भौतारिएका छन्।’

विकट हिमाली क्षेत्रमा जन्मे हुर्केका व्यक्तिसँग खेलमा लाग्न व्यक्तिगत सामर्थ्य नहुने उनले बताए। खेलाडीको शोखले खाइनखाई खेलमा लागिरेको उनको भनाइ छ।

‘खेलाडी भनेको गरिब परिवारबाटै आउने हो, सम्पन्न परिवारबाट आउँदैनन्,’ उनले भने, ‘कला देखाउने खेलाडीलाई सरकारले उत्साहित बनाउन सक्नुपर्छ।’

विश्वमा पहिलो पटक ८ हजार मिटर उचाइको हिमाल आरोहणको सम्झनामा २०७४ सालदेखि उक्त म्याराथन प्रतियोगिता आयोजना भइरहेको छ। विगत तीन वर्ष कोभिड-१९ महामारीका कारण प्रतियोगिता रोकिए पनि यस वर्षदेखि निरन्तरता दिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरूङले बताए।

सन् १९५० जुन ३ गतेका दिन फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको चुचुरो चुमेका थिए। त्यही आरोहणको सम्झनामा जुन ३ तारिखलाई अन्नपूर्ण दिवसका रूपमा मनाउने गरिन्छ। अन्नपूर्ण आरोहण सफल भएको तीन वर्षपछि मात्र पहिलो पटक सगरमाथा आरोहण सफल भएको थियो।

आरोही हर्जोगले अन्नपूर्ण आरोहण पश्चात लेखेको पुस्तक ‘अन्नपूर्ण’ विश्वमा करोडौंप्रति बिक्री भएको अनुमान छ। उनको सोही पुस्तकले आरोही र पदयात्रीलाई अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याउँछ।

प्रतिक्रिया

सम्बन्धित समाचार