कतार विश्वकपको सेमिफाइनल समिकरण पूरा

Aadil Times 1+ समाचार ( )
२४ मंगशिर २०७९

कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति साविकको विजेता फ्रान्सको जितसँगै सेमिफाइनलमा पुग्ने सबै चारमा टोलीको टुंगो लागेको हो ।

पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै लगातार दोस्रो सस्करणमा पनि सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा गोलरहित बराबरी र त्यसपछि अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि खेल पेनाल्टीमा लम्बिदा साविकको उपविजेता क्रोएसियाले बाजी मार्यो ।

दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै ८ वर्षपछि सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा २–२ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा लम्बिदा अर्जेन्टिनाले जित निकाल्न सफल भयो ।

तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भयो । यस्तै मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । मोरक्कोको जितमा युसुफ एन न्यासरीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

चौथो क्वाटरफाइनलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले पराजित गरी यस विश्वकपको सेमिफाइनलमा पुग्ने चौथो तथा अन्तिम टोली बनेको छ । फ्रान्सको जितमा ओरेलिएन चुआमेनी र ओलिभर जिरुडले गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमा एक गोल गर्दा अर्को पेनाल्टीमा गोल गर्न सकेनन् ।

अब सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना तथा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । क्रोएसिया र अर्जेन्टिनाबीचको खेल मंसिर २७ गते मंगलरबार राति १२ः४५ बजे तथा मोरक्को र फ्रान्सबीचको खेल मंसिर २८ गते बुधबार राति १२ः४५ बजेपछि हुनेछ ।

पुस २ गते शनिबार राति ८ः४५ बजे तेस्रो स्थानको लागि तथा पुस ३ गते आइतबार राति ८ः४५ बजे उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया