नेपाली कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली आम निर्वाचन–२०७९ को पहिलो सांसदको रुपमा निर्वाचित हुनुभएको छ । उहाँले ५० कटेका प्रतिस्पर्धीलाई उछिन्दै कांग्रेसका पहिलो सांसदको रुपमा निर्वाचित हुनुभएको हो ।
>
प्रतिनिधि सभाको एक मात्र निर्वाचन रहेको मुस्ताङबाट कांग्रेसका योगेश विजयी हुनुभएको हो । पहिलो पटकमै सांसद बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सांसद बन्नु हुनेछ ।
>
योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले तीन हजार ७८ मत पाउनु भएको थियो । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।
>
वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सांसद बन्न सफल भएका हुन् ।
>
देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।
>
यो चुनावमा उहाँले कांग्रेसबाट सहजै टिकट पाउनु भएको थियो । झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिलाउन सफल हुनुभएको थियो ।
>
पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति हुनुहुन्थ्यो । हाल उहाँ गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।
>
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुनुहुन्छ ।
>
थासाङ गाउँपालिका चिसापानी निवासी योगेश गौचन राजनीतिसँगै सामाजिक सेवा, कृषि, होटल व्यवसाय र पर्यटन व्यवसायमा समेत सक्रिय हुनुहुन्छ । योगेशले भारतको बैंग्लोरस्थित एलाइन्स पुनमर सिटीबाट स्नातक तहको अध्ययन गरेका छन् ।>
अधिकांशले एमालेका नेता प्रेम तुलाचनसँग योगेश नजित्ने आकलन गरिरहेका थिए तर त्यसको ठिक विपरित भयो । उहाँ चुनाव जितेपछि सबै चकित भएका एक कांग्रेस नेताले बताए । २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई हराएर संसद छिरेकाले योगेश नजित्ने आकलन गरिएको थियो।
>
>>