कार दुर्घटनामा घाइते सुदूरपश्चिमका मन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन

Aadil Times 37+ समाचार ( )
५ आश्विन २०८०

बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।

बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार मंगलबार साँझ ५:३३ मा मन्त्री सि‌ंहको निधन भएको हो। 

‘५:३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मन्त्रीजीलाई मृत घोषणा गरेका हुन्,’ एसपी राठौरले भने।

यसअघि उनकी पत्नी अमृता र भाउजू जयादेवीको मृत्यु भएको थियो। उनीहरूको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो। 

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ। 

मन्त्रीसहित उनीहरूलाई हेलिकप्टरमार्फत कोहलपुर पुर्‍याइएको थियो।

\

मन्त्री सिंहको मृत्युसँगै बझाङ जिल्लाले वर्षौंपछि पाएको पहिलो मन्त्री गुमाएको छ। संघीयतापछि प्रदेश र संघमै बझाङबाट कोही पनि मन्त्री भएका थिएनन्।

सिंह गत जेठ ५ गते सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका थिए।

गत वर्ष मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट उनी निर्वाचित भएका थिए।

२०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट उनको जन्म भएको हो।

पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरेका थिए।

उनले बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका थिए।

सिंहले कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताउँदै आएका थिए। २०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए। उनी नेपालगन्ज हुँदा २०३५ सालतिर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए।

त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बनेका थिए। २०४९ सालमा उनी तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए।

२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भएर हारेका थिए। त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरेका थिए।

पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि हारेका थिए।

२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए। उनको निधनपछि नेपाली कांग्रेसले पनि महत्वपूर्ण नेतालाई गुमाउनु परेको नेताहरूको भनाई छ।

कांग्रेस बझाङका जिल्ला कार्यसमिति सचिव झलक कठायतले सरकारको मन्त्री मात्रै नभई बझाङका जनताका बीचमा अत्यन्तै लोकप्रिय नेता गुमाउनु परेको बताए।

‘नागरिकबीच नजिकको सम्बन्ध बनाएर हिँड्न सक्ने, पार्टीलाई यहाँसम्म पुर्‍याउन तीन दशकदेखि मेहनत गरेका नेता गुमाउनु पर्दा टुहुरो भएको महसुस गरेका छौं,’ उनले भने।

प्रतिक्रिया