विराटनगर प्रवेश गर्ने जोगवनी नाका बन्द

Aadil Times 1+ समाचार ( )
१ मंगशिर २०७९

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै भारतबाट विराटनगर प्रवेश गर्ने जोगवनी नाका बिहीबार रातिदेखि बन्द गरिएको छ ।

निर्वाचन सम्पन्न नभएसम्मका लागि नाका बन्द रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार राति १२ बजेदेखि आगामी मंसिर ४ गते मध्यरातिसम्मका लागि नाकामा आवतजावत बन्द गरिएको हो । यो अवधिमा नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत गर्न पाउने छैनन् ।

एम्बुलेन्स, वारुणयन्त्र लगायतका अतिआवश्यकीय सवारीसाधनलाई भने भारत र नेपालका अधिकारीबीचको सहमतिमा आवतजावतका लागि सहज गरिने प्रजिअ दाहालको भनाइ छ । जोगवनीसहित भारतसँग सीमा जोडिएका सबै नाका शील गरिएको उनको भनाइ छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित र सुरक्षित हिसाबमा सम्पन्न गर्न अन्तर्राष्ट्रिय नाका बन्द गरिएको हो । भारतसँगको खुला सीमा निर्वाचन सुरक्षाको चुनौती मानिँदै आएको छ ।

निर्वाचनलाई लक्षित गर्दै मोरङमा मदिराको बिक्री, ओसारपसार तथा सेवनमा समेत प्रशासनले रोक लगाएको छ । नियमको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइने प्रजिअ दाहालले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङले निर्वाचनलाई निष्पक्ष, धाँधली र भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल तथा सरोकारवाला सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया