घट्यो कारोबार रकम ,नेप्से परिसूचक झिनो अंकले वृद्धि

Aadil Times 1+ समाचार ( )
२ जेठ २०८०

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबारको तुलनामा परिसूचक ३.३१ अंकले वृद्धि भएको हो । यसदिन नेप्से परिसूचक ०.१८ प्रतिशतले वृद्धि भएर १८२१.६२ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम भने घटेको छ । सोमबार साढे ७२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज साढे आठ करोड रुपैयाँ घटेर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएको छ । गत आइतबार भने ९० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । पछिल्ला दिनहरूमा नेप्से परिसूचक ओरालो गतिमा रहेको छ भने कारोबार रकम पनि उत्साहजनक छैन ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र ‘अन्य’ समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । बैंकिङ समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने ‘अन्य’ समूहको परिसूचक ०.८९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा निर्जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक ०.९९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै माइखोला हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री एनआईसी एसिया बैंकको भएको छ । यो बैंकको पाँच करोड एक लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । आज २६९ धितोपत्रको २० लाख ६३ हजार ७३७ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया