मोरङ ३ बाट कांग्रेसका सुनील शर्मा निर्वाचित

Aadil Times 1+ समाचार ( )
९ मंगशिर २०७९

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुनील शर्मा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरे ।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेर प्रतिनिसभाको यात्रा तय गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ढकाल २५ हजार ८९५ मतमै खुम्चिए । २०७४ सालको निर्वाचनमा शर्मालाई पराजित गरेर ढकाल प्रतिनिधिसभा सदस्य चुनिएका थिए । त्यसको ठीक ५ वर्षपछि ढकालसँग हारको बदला लिँदै शर्माले वामपन्थी किल्ला भत्काएका छन् ।

यो क्षेत्रबाट यसअघिका निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी हुँदै आएका थिए । वामपन्थी बाहुल्य क्षेत्रमा शर्माको प्रवेशसँगै जित निकालेर कांग्रेसले लालकिल्ला तोडेको हो । उनी विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन् ।

यसैबीच प्रतिनिधिसभा सदस्यकै प्रतिस्पर्धामा उत्रिएकी नेपाली सिने क्षेत्रकी चर्चित नायिका रेखा थापा १० हजार ९९८ मतसहित तेस्रो भइन् । थापाले राप्रपाबाट उम्मेदवारी दिएकी थिइन् ।

निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मंसिर ४ गतेको निर्वाचनमा यो क्षेत्रमा ९७ हजार १२६ मत खसेको थियो । खसेकोमध्ये ९२ हजार २०२ सदर र ४ हजार ९२४ मत बदर भएको जानकारी काफ्लेले दिए ।

प्रतिक्रिया