सुनसरी ४ को मतगणना सुरु गर्ने तयारी

Aadil Times 1+ समाचार ( )
नेपाली कांग्रेसले विरोध जनाउँदा गणना रोकिएको...
१२ मंगशिर २०७९

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु गर्न तयारी थालिएको छ । यो क्षेत्रको मतगणना ३ दिनदेखि रोकिएको थियो ।

गत शनिबारदेखि रोकिएको मतगणना सुरु गर्न सर्वदलीय बैठक बोलाइएको छ । मतगणना मंगलबारदेखि नै सुरु गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएपछि सर्वदलीय सहमति जुटाउँदै गणना थाल्ने तयारी भइरहेको हो ।

मतगणनामा खटिएका कर्मचारीले प्राप्त नै नभएको ६ सय बढी मत नेकपा (एमाले)का उम्मेदवार जगदीश कुसियतको भनेर गणना गरेपछि नेपाली कांग्रेसले विरोध जनाउँदा गणना रोकिएको थियो। निर्वाचन आयोगले यसमा आफ्नो कमजोरी स्वीकार गरिसकेको छ ।

यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका कुसियतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस र एमालेका कार्यकर्ताबीच तनाव उत्पन्न हुनसक्ने देखिएपछि मतगणनास्थल इनरुवाको भगवती माध्यमिक विद्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहिलेसम्मको विवरण अनुसार कार्कीले २३ हजार ४३९ मत र कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। कुसियतभन्दा कार्की ९८ मतले अगाडि छन्। ६० हजार मतगणना सम्पन्न भएको र २१ हजार गणना गर्न बाँकी रहेको जनाइएको छ ।


प्रतिक्रिया