उद्योगी व्यवसायीद्वारा राष्ट्र बैंक घेराउ

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । चरणवद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीहरूले मंगलबार काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैकको मुख्य कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उद्योगी व्यवसायीहरू अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका छन् ।

देशभरका उद्योगी व्यवसायीहरूले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षणसमेत गराएका छन् । विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा पोख्नका लागि राष्ट्र बैंक आएको बताए ।

उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को ब्याज लिएको बताए । उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको बताए ।

उनले व्यवसायीहरूको व्यापार सुस्त भएको अवस्थाका उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए । उनले सरकारले व्यवसायीहरूसँग छलफल गरी सामाधान गर्न आग्रह गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरूको आन्दोलन निरन्तर चल्ने बताए । उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए ।

उनले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक रहेको बताए । उनले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरूले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको बताए ।

त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरू बैंकविरुद्ध सडक आन्दोलन गर्दासमेत नेपाल सरकार र सम्बन्धित निकायहरू समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए ।

उनले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरू मर्कामा परेको बताए । उनले बैंकहरूले उद्योगी व्यवसायीहरूलाई सुकुम्वासी बनाउने काम गर्न लागेको बताए ।

विगत एक वर्षदेखि व्यवसायीहरू बैंकको ज्यादतीविरुद्ध आन्दोलनमा रहे पनि राष्ट्र बैंकले कुनै सुनुवाई नगरेपछि बाध्य भएर केन्द्रीय बैंक गर्न बाध्य भएको व्यवसायीहरूले बताए ।

आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरू आन्दोलनमा सहभागिता रहेको छ ।


प्रतिक्रिया