सफल सभापतिमा दरिए ओखलढुंगा कांग्रेसका तेजेन्द्र खनाल

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनाल (तेजेन्द्र) सफल सभापतिमा दरिएका छन् । उनले स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सफलता दिलाएका छन् ।

८ वटा स्थानीय तह रहेको ओखलढुंगामा स्थानीय तह निर्वाचनमा ४ प्रमुख र ४ उपप्रमुख पदमा कांग्रेसले जितेको थियो । त्यसबाहेक मानेभञ्ज्याङ गाउँपालिकाको प्रमुख पदमा कांग्रेसकै समर्थनमा स्वतन्त्र र चिशंखुगढी गाउँपालिकाको प्रमुख पदमा गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

सभापति खनाल स्वयं उक्त निर्वाचनमा माओवादीसँगको गठबन्धनमा सिद्धिचरण नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा बहुमत कांग्रेसकै पक्षमा भएपछि जिल्ला समन्वय समिति समेत कांग्रेसले बनाएको थियो ।

 हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्देशन अनुसार प्रतिनिधिसभा र प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै प्रदेशसभा २ मा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । 

निर्वाचनमा गठबन्धन सफल नहोला कि भन्ने आशंकाकै बीचमा जिल्लामा गठबन्धनले सफलता पाएको छ ।

यस्तै समानुपातिकतर्फ पनि प्रदेशसभामा कांग्रेसले पहिलो मत पाएको छ । प्रतिनिधिसभामा भने एमालेले कांग्रेसलाई उछिनेको छ । मेरो मात्रै नभएर सम्पूर्ण टीमको हार्डवर्कले एक हदसम्म सफलता मिलेको छ, सभापति खनालले भने,कांग्रेसको किल्लाका रुपमा चिनिएको ओखलढुंगामा पुनःमाहोल फर्काउन सफल भएका छौँ ।

सभापति खनालले पार्टीभित्र भएका असन्तुष्ट पक्षलाई समेत मिलाएर लैजाने अभ्यास गरिरहेका छन् ।

को हुन् खनाल

ओखलढुंगाको जिल्ला सभापति रहेका तेजन खनाल (तेजेन्द्र) सँग ३३ वर्ष लामो राजनीतिक अनुभव छ । उनी हाल सिद्धिचरण नगरपालिकाको मेयर समेत हुन् । 

खनाल २०४६ सालको जनआन्दोलनपश्चात नेविसंघको जिल्ला सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका थिए । उनी नेविसंघ तहाचाल क्याम्पस अध्यक्ष, नेविसंघ सगरमाथा अञ्चल काठमाडौँ सम्पर्क समितिका सचिव, नेविसंघ जिल्ला अध्यक्ष, लगातार २ कार्यकाल ओखलढुंगा कांग्रेसको जिल्ला सदस्य तथा जिल्ला सचिव भइसकेका छन् । उनी कांग्रेसको उपसभापति समेत भइसकेका छन् ।

उनले ओखलढुंगामा जनतामाझ इमान्दार नेताको छवि बनाएका छन् । खनाल नेपाली कांग्रेस ओखलढुंगाका तत्कालीन समयमा बलबहादुर राईका नजिक मानिएका बौद्धिक तथा पुराना नेता भोजराज खनालका जेठो छोरा हुन् ।

प्रतिक्रिया