प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको बताएका छन्।
>
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
>
प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ।
>
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता हो। यो लक्ष्य हासिल गर्न सिंगो देशलाई एकतावद्ध बनाएर लैजानुपर्छ‘ प्रधानमन्त्रीले भने, ‘पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ।
>
पार्टीको २ महिने संगठनात्मक अभियान चलाउँदैछौँ। जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ। अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौं, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौं।’
>
उनले थपे, ‘अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन्। ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको बैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ।
>>