एमाले नेतृत्वका प्रदेश सरकार धमाधम संकटमा

Aadil Times 1+ समाचार ( )
१० चैत्र २०७९

१० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम संकटमा पर्दै गइरहेको छ ।

संघीय संसद्को दोस्रो ठूलो दल एमालेको पहलमा ३२ सिटको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएको थियो ।

माओवादी केन्द्रले बाग्मती र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउँदा नेपाल समाजवादी पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाएको थियो ।

जसमध्ये एमालेले पाएको चार मुख्यमन्त्रीमध्ये सुदूरपश्चिम प्रदेशको नेतृत्व एमालेले राष्ट्रपति निर्वाचनअगावै गुमाइसकेको छ ।

सो प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्दा उनले विश्वासको मतसमेत पाइसकेका छन् ।

सुरुमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गुमाएको एमाले राष्ट्रपति निर्वाचनपछि गण्डकी, लुम्बिनी र कोसी प्रदेशको नेतृत्व पनि गुमाउने अवस्थामा पुगेको छ ।

यद्यपि, संसदीय अंकगणितका कारण कोसी प्रदेशको मुख्यमन्त्री भने जोगिने झिनो सम्भावना भने कायमै छ ।

राजनीतिक उतार चढावका कारण शुक्रबार मात्र बाग्मती प्रदेशबाट एमालेका मन्त्रीहरू बाहिरिएका छन् । बाग्मती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्दा राप्रपा र एमालेले समर्थन गरेको थियो । सो प्रदेशमा राप्रपासमेत सरकारमा सहभागी थियो ।

तर, राष्ट्रपति निर्वाचनलाई लिएर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीसमेत फिर्ता बोलाएपछि शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत मागेका थिए ।


शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत त पाए । तर, एमाले भने सरकारबाट बाहिरिएको छ । बाग्मती प्रदेश सरकारमा चार मन्त्रालयको जिम्मेवारी लिइरहेको एमालेले शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुअगावै सरकार छाडेको हो ।

बाग्मती प्रदेशमा नेकपा एमालले अर्थ, कृषि स्वास्थ्य र यातायात मन्त्रालय सम्हादै आएको थियो ।

गण्डकी प्रदेश सरकारको सत्ताघटक नेकपा (माओवादी केन्द्र)ले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ । माओवादी सरकारबाट बाहिरिएसँगै गण्डकी सरकार पनि अल्पमतमा परेको छ ।

लम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन् । त्यहाँ पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिने तयारी गरिरहेको छ ।

प्रतिक्रिया