कोशी प्रदेशका मुख्यमन्त्रीको पुत्ला दहन, प्रहरीद्वारा अश्रुग्याँस र हवाइ फायर

Aadil Times 1+ समाचार ( )
५ चैत्र २०७९

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ ।

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । 

उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउण्ड हवाइ फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।

विराटनगरमा आज दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया