टर्कीमा गएको विनासकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।
>
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौँ बैठकले उक्त निर्णय गरेको हो ।
>
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने,टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो ।
>
टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।>
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।
>
बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।
>
>>