मोरङको रंगेलीमा बन्ध्याकरण शिविर सम्पन्न

Aadil Times 1+ समाचार ( )
२४ माघ २०७९

मोरङको रंगेलीमा परिवार नियोजन बन्ध्याकरण शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङको आयोजना र रंगेली नगरपालिकाको समन्वयमा गत माघ १८ गतेदेखि सुरु भएको स्थायी बन्ध्याकरण शिविर २० गते सम्पन्न भएको हो ।

रंगेली अस्पताल र कर्सिया केन्द्र गरी दुई ठाउँबाट शिविरमा सेवाग्राहीलाई निःशुल्क सेवा दिइएको थियो । शिविरबाट दुवै केन्द्र गरी नगरका ८९ जनाले सेवा लिएको रंगेली नगरपालिकाका स्वास्थ्य सह–संयोजक भुपेन्द्र मण्डलले जानकारी दिए ।

शिविरमा मिनिल्याप, भ्यासेटोमी, आयुसीडी र नरप्लान्टको सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य निरिक्षक एवम् शिविरका संयोजक हरि शंकर प्रसाद साहले बताए ।

उनका अनुसार सन्तानको रहर पुरा भएका महिला र पुरुषका लागि स्थानीय बन्ध्याकरण शिविर आयोजना गरिएको थियो । तर, महिलाहरुले मात्र बन्ध्याकरण गराएको शिविर संयोजक साहले जानकारी दिए ।

शिविरमा चिकित्सक सहित सात जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । शिविरमा सेवा लिन आएकाहरुलाई तीन सय रुपैयाँ र घरसम्म पुर्यादिने व्यवस्थासमेत गरिएको साहले बताए ।

स्वास्थ्य कार्यालय मोरङले स्थानीयतहहरुसँग समन्वय गरि प्रत्येक वर्ष परिवार नियोजन बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया