चिनीको मूल्य बढाउन उद्योगीको कार्टेलिङ

Aadil Times 1+ समाचार ( )
२३ माघ २०७९

 चिनी व्यवसायीले ठूलो क्षमता भएका नेपालका ६ वटा चिनी उद्योगले चिनीको मूल्यमा कार्टेलिङ गर्दै कृत्रिम मूल्यवृद्धि गरिरहेको आरोप लगाएका छन् । व्यवसायीले ठूला उद्योगले अफ सिजनमा मूल्यवृद्धि भएका वेला चिनीलाई अझ महँगो बनाउने उद्देश्य राखेर अहिलेदेखि नै महँगो मूल्य राखेको आरोप लगाएका हुन् । ठूला उद्योगले अहिले नै महँगो मूल्य राख्दा व्यवसायीले चिनी खरिद गरेका छैनन् ।

उद्योगको महँगो मूल्यका कारण व्यवसायी साना उद्योगतिर आकर्षित भएका छन् । यसका कारण ठूला उद्योगलाई भविष्यका लागि धेरै परिमाणमा स्टक राख्न सजिलो परेको बताइएको छ । एक व्यवसायीका अनुसार अफ सिजनमा लगभग वैशाखपछि साना सुगर मिलको चिनी करिब–करिब सकिइसकेको हुन्छ । यही वेला ठूला उद्योगीले विक्री खोल्छन् र मूल्यमा अझ वृद्धि गर्छन् ।

यसरी अहिलेको सिजनमा चिनीको विक्री कम गरेर वा गर्दै नगरी स्टक राख्ने उद्योगमा बर्दिबासको एभरेस्ट सुगर मिल, सर्लाहीको इन्दुशंकर, कलैयाको रिलायन्स, सर्लाहीको महालक्ष्मी, महेन्द्रनगरको भाग्येश्वर र महेन्द्रनगरकै महाकाली गरी ६ वटा सुगर मिल हुन् । छ वटै ठुला उद्योगले पुसको पहिलो हप्तामा प्रति किलो चिनीको कारखाना–गेटको मूल्य भ्याटबाहेक ७४ देखि ७५ रुपैयाँमा खोलेका थिए । यसैबिच गृहमन्त्रीमा रवि लामिछाने आएपछि उनले सीमानाका कडा पारे । यसका कारण भारतबाट नेपालतर्फ हुने चिनीको तस्करीमा पनि कडाइ गरियो ।

सिमाना कडा भएपछि ६ वटै उद्योगले प्रति किलो २ रुपैयाँसम्म फेरि मूल्यवृद्धि गरे । यसैबिच सर्वोच्चको अदालतको आदेशपछि लामिछानेको बहिर्गमन भयो । यसका कारण सिमानाको तस्करी फेरि खुकुलो हुन थालेको छ । यसपछि ठुला भनिएका ६ वटै उद्योगले मूल्य घटाएका छन् । ती उद्योगले अहिले प्रति किलो चिनीको कारखाना मूल्य भ्याटबाहेक ७४ देखि ७५ रुपैयाँ निर्धारण गरेका छन् ।

व्यवसायी जितेन्द्र जैनले भने, ‘अहिले सिजनमै मूल्यवृद्धि गर्ने उद्योगले अफ सिजनमा चिनी निकालेर प्रति किलो कारखाना मूल्य भ्याट बाहेक ८२ देखि ८४ रुपैयाँसम्म बनाउने उद्देश्य राखेका छन् ।’ तर ठुला चिनी उद्योगका सञ्चालक भने आफूले कार्टेलिङ गरेको र कृत्रिम मूल्यवृद्धि गराएको भन्ने आरोप स्वीकार गर्न तयार छैनन् ।

सर्लाहीको महालक्ष्मी सुगर मिलका सञ्चालक राजकुमार गुप्ताले भने, ‘अहिले चिनी नै विक्री भइरहेको छैन । हामी प्रति किलो ७३ रुपैयाँभन्दा कममा विक्री गर्न सक्तैनौँ। किनकि उखुको मूल्यमा पनि प्रति क्विन्टल २० रुपैयाँले वृद्धि भएको छ । हामीले प्रति किलो ७३ मा विक्री गर्दा नाफा–घाटा बराबर छ । तर साना चिनी मिलहरू प्रति किलो ७१–७२ मा कसरी विक्री गरिरहेका छन् । हामीले बुझ्न सकेका छैनौं ।’

सञ्चालक गुप्ताले उद्योगले चिनीको विक्री नगरेको होइन, उद्योगबाटै चिनीको विक्री हुन नसकेको दाबी गरे । उनको भनाइ थियो, ‘हामी साना मिलजस्तो ७१–७२ मा दिन सक्तैनौँ, ७३ भन्दा माथिको मूल्यमा लिन कोही आइरहेका छैनन् ।’ यसप्रकार ठुला उद्योगले चिनी महँगो बनाएपछि व्यवसायी साना उद्योगतिर मोडिएका छन् ।’ व्यवसायीका अनुसार सर्लाहीको अन्नपूर्ण, गरुडाको बाबा बैजु र नवलपरासीको इन्दिरा सुगर मिलजस्ता साना उद्योगले चिनीको कारखानामूल्य भ्याट बाहेक प्रतिकिलो ७१ देखि ७३ रुपैयाँ कायम गरेका छन् ।

यी साना उद्योगले किसानलाई तत्काल भुक्तानी दिनुपर्ने हुँदा सस्तोमा चिनी विक्री गरिरहेको बताइन्छ । गरुडाको बाबा बैजु सुगर मिलका सञ्चालक बैजनाथ साहले आफूले प्रति किलो ७१ देखि साढे ७२ रुपैयाँमा चिनीको विक्री गरिरहेको बताए । साहर्ले भने, ‘हाम्रो क्षेत्रमा उखु खेती कम छ । किसानलाई तत्काल भुक्तानी दिएर उखुखेतीमा प्रोत्साहन गर्नुछ। त्यसैले हामी कम मूल्यमै चिनीको विक्री गर्न बाध्य छौं ।’

सुनसरीको इस्टर्न सुगर मिलले पनि चिनीको मूल्य बढी नै राखेको व्यवसायीको आरोप छ । इस्टर्न सुगर मिल पूर्वमा एक मात्र चिनी कारखाना हो । सर्लाहीदेखि पूर्वमा चिनी ल्याउँदा लाग्ने ढुवानी खर्चभन्दा इस्टर्नकै चिनी खरिद गर्न व्यवसायीलाई सस्तो पर्ने भएपछि पूर्वका व्यवसायी इस्टर्नसितै खरिद गर्न बाध्य छन् । यसको फाइदा उठाउँदै इस्टर्नले मूल्यवृद्धि गरेको हो ।

इस्टर्नका सञ्चालक विशाल अग्रवालले कारखानाबाट अहिले चिनी भ्याटबाहेक प्रति किलो ७५ रुपैयाँमा विक्री भइरहेको जानकारी दिए । सञ्चालक अग्रवालका अनुसार पुसको पहिलो हप्तामा चिनीको मूल्य ७२ रुपैयाँमा सुरु भएको थियो । अहिले ७५ पुगेको हो।अग्रवालले सात दिनयता फेरि सिमानाबाट चोरीतस्करी भएर अवैध चिनी नेपाल ल्याउन थालिएको बताए । व्यवसायीका अनुसार नेपालमा अहिले सबैभन्दा सस्तो चिनी विक्री गर्ने उद्योगले भ्याटबाहेक प्रति किलो ७१ रुपैयाँमा विक्री गरिरहेका छन् ।जबकि भारतका उद्योगले प्रति किलो भारु ३५ अर्थात् नेरु ५६ मा विक्री गरिरहेका छन् । यसरी नेपाल र भारतका उद्योगमा गरी एक किलो चिनीको मूल्यमा १५ रुपैयाँले अन्तर छ । इस्टर्नका सञ्चालक विशालका अनुसार भारतमा एक क्विन्टल उखुबाट ११ देखि साढे ११ किलोसम्म चिनी उत्पादन गरिन्छ । त्यहाँका उद्योग ठुला र आधुनिक छन् । उखुमा पनि चिनीको प्रतिशत ज्यादा हुन्छ किनकि उनीहरू कारखानाले तोकेको उखुको जात मात्र प्रयोग गर्छन् । तर नेपालमा एक क्विन्टल उखुबाट सरदर ९ देखि साढे ९ किलो मात्र चिनी उत्पादन गर्न सकिन्छ । भारतका तुलनामा यहाँका उद्योग आधुनिक र उच्च प्रविधिका छैनन् । नेपालमा खेती गरिने उखुमा चिनीको प्रतिशत पनि कम हुन्छ ।

प्रतिक्रिया