चितवन २ मा समयमै उपनिर्वाचन गराउन प्रधानमन्त्री सँग रविको माग

Aadil Times 1+ समाचार ( )
२२ माघ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा उपनिर्वाचन गराउन सरकारसँग माग गरेको छ । चितवन २ बाट निर्वाचित भएका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उम्मेदावर हुन अयोग्य रहेको फैसला गरेको थियो ।

चितवन २ सांसदविहीन भएका कारण रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपनिर्वाचनको माग गरेको हो । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरी सभापति लामिछानेले उपनिर्वाचन समयमै गराउन आग्रह गरेका हुन् ।

‘उपनिर्वाचन गराउने दायित्व सरकारको हो । उपनिर्वाचन समयमा हुनुपर्छ,’ रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले भने ।  रविले पुरानो नागरिकता सक्रिय बनाएसँगै पुन चितवन २ बाट चुनाव लड्ने योजना बनाएका छन् । ‘उपनिर्वाचनमा सभापतिलाई उठाउने छलफल भएको छ,’ एक सांसदले भने ।

हिजो राति बसेको रास्वपाको बैठकमा उपनिर्वाचनमा सभापति लामिछानेलाई उठाउने विषयमा छलफल भएको थियो । निर्वाचन आयोगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ ।

निर्वााचन आयोगले वैशाखअघि उपनिर्वाचन सम्भव नरहेको बताउँदै आएको छ । मतदाता नामवली अध्यावधिक गर्नुपर्ने लगायतका सबै तयारी गर्नुपर्ने भएकाले वैशाखअघि उपनिर्वाचन सम्भव नरेहेको आयोगको तर्क छ ।

प्रतिक्रिया