काठमाडौं । अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको रकेटको माथिल्लो भाग (अपर स्टेज) आउँदो बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । एक वर्षभन्दा अघि दुईवटा चन्द्र ल्यान्डर प्रक्षेपण गरेर अन्तरिक्षमा अनियन्त्रित रूपमा तैरिरहेको रकेट ठोक्किने भएको हो । >
वैज्ञानिकका अनुसार यो ठक्कर अन्जानवश हुन लागेको हो, जसले चन्द्रमाको सतहमा ठुलो खाडल बनाउनेछ । अन्तरिक्ष ट्र्याकिङ विज्ञ बिलले उक्त निष्क्रिय रकेट खण्ड प्रतिघन्टा ८,७०० किलोमिटर (ध्वनिको गतिभन्दा सात गुणा बढी) को वेगमा चन्द्रमाको उज्यालो भागमा रहेको ‘आइन्स्टाइन क्रेटर’ नजिक ठोक्किने अनुमान गरेका छन् । >
यस ठक्करबाट तीन टन टीएनटी विस्फोटक पदार्थ बराबरको ऊर्जा उत्पन्न हुनेछ । यो घटना बिहानको समयमा हुने भएकाले अमेरिका र क्यानडाको पूर्वी भाग तथा दक्षिण अमेरिकाका अधिकांश क्षेत्रबाट टेलिस्कोपको सहायताले यसको प्रत्यक्ष अवलोकन गर्न सकिने जनाइएको छ ।>
ठक्कर खान लागेको उक्त बेवारिसे रकेट खण्ड करिब ४० फिट (१२ मिटर) लामो र ४,५०० किलोग्राम तौलको छ । यसले १५ जनवरी २०२५ मा दुई वटा निजी चन्द्र ल्यान्डरलाई अन्तरिक्षमा पुर्याएको थियो । तीमध्ये फायरफ्लाई एरोस्पेसको ‘ब्लु घोस्ट’ चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सफल भए पनि जापानको ‘आईस्पेस’को ल्यान्डर भने दुर्घटनाग्रस्त भएको थियो ।>
लस अलामोस नेसनल ल्याबोरेटरीका वैज्ञानिक बेन्जामिन फर्नान्डोका अनुसार ठक्करबाट चन्द्रमामा करिब २७ मिटर चौडा र ५ मिटर गहिरो खाडल बन्नेछ । टक्करको समयमा उत्पन्न हुने प्रकाशको चमक एक सेकेन्डभन्दा कम समय रहने र निकै मधुरो हुने भए तापनि त्यसबाट निस्कने धुलो र भग्नावशेषको मुस्लो अन्तरिक्षमा कयौँ किलोमिटरसम्म फैलिन सक्नेछ । चन्द्रमामा हावा नहुने र गुरुत्वाकर्षण कम हुने भएकाले उक्त धुलोको बादल केही मिनेटसम्म टेलिस्कोपबाट स्पष्ट देखिने बताइएको छ ।>
यस घटनाको अध्ययनका लागि अमेरिकी अन्तरिक्ष संस्था (नासा) को ‘लुनार रिकोनिसन्स अर्बिटर’ र दक्षिण कोरियाको ‘दानुरी’ चन्द्र अर्बिटर परिचालन गरिएको छ । दानुरी अर्बिटर ठक्कर हुनुभन्दा ठिक दुई मिनेट अगाडि उक्त रकेटको केही किलोमिटर नजिक पुगेर तस्बिर सङ्कलन गर्ने तयारीमा छ । >
वैज्ञानिक फर्नान्डोका अनुसार यो अध्ययनले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्रीका लागि अन्तरिक्ष फोहोरको ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने विश्लेषण गर्न मद्दत गर्नेछ । चन्द्रमामा दुर्घटनावश निष्क्रिय रकेट ठोक्किँदै गरेको यो दोस्रो ज्ञात घटना हो । यसअघि सन् २०२२ मा चीनको एक रकेट खण्ड चन्द्रमाको अर्को भागमा ठोक्किएको थियो । विगतमा नासाले एपोलो अभियानका क्रममा भूकम्पीय मापनका लागि र सन् २००९ मा हिउँको खोजीका लागि जानाजानी रकेट र ल्यान्डर चन्द्रमामा खसालेको थियो । >
अन्तरिक्ष विज्ञ ग्रेका अनुसार यदि रकेटको माथिल्लो भाग सूर्यको कक्षतर्फ मोडिएको भए यो दुर्घटना टर्न सक्थ्यो । हाल अमेरिका र चीन दुवै देश चन्द्रमामा मानव अवतरण गराउने दौडमा छन् । नासाको आगामी ‘आर्टेमिस आईभी’ अभियानका लागि ल्यान्डर निर्माण गर्न एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिन प्रतिस्पर्धामा छन् । >
अवकाशप्राप्त खगोलविद् जोनाथन म्याकडोवेलले यस ठक्करले तत्कालै कुनै समस्या नपार्ने भए पनि भविष्यमा चन्द्रमामा दीर्घकालीन आधार शिविर स्थापना हुँदा यस्ता अनियन्त्रित रकेटका भाग सुरक्षा चुनौती बन्न सक्ने चेतावनी दिएका छन् ।>
-अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा । >
>>