बेलबारीको शुभलक्ष्मी हार्डवेयरमा आगलागी, चार करोडको क्षति २ जना घाइते

Aadil Times 1+ समाचार ( )
२५ कार्तिक २०७९

विराटनगर । मोरङको बेलबारी १ ढुकुरे चोकमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयरमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।शुक्रबार विहान आगलागी हुँदा ४ करोड बरावरको क्षति भएको प्रहरीको प्रराम्भिक अनुमान गरेको छ । आगोले जलेर २ जना घाइते भएका छन् ।

डबल खान ठकुरीको ३ तले घरमा रहेको पसलमा बिहान १ः४५ बजेतिर अचानक आगलागी भएको हो । आगोले घर, हार्डवेयर पसल तथा पसलमा रहेका सामान, हार्डवेयरको गल्लामा राखिएको अन्दाजी ४ लाख नगद, एउटा मोटरसाइकल लगायतका धनमाल जल्दा ठूलो क्षति पुगेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

आगोले जलेर ३० वर्षीय भूषण ठकुरी र उनकी पत्नी २८ वर्षीया नमिता ठकुरी घाइते भएका छन् । शरीरका विभिन्न भाग जलेर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । प्रहरीका अनुसार भूषण र नमिता घरधनी डबल खान ठकुरीका छोरा बुहारी हुन् ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा टोली खटिएको थियो । नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय र ९ वटा दमकलको सहायतामा बिहान ३ः२५ बजेतिर आगो नियन्त्रणमा लिइएको एसपी कोइरालाले बताए ।

आगलागीको कारण खुल्न बाँकी छ । यद्यपि विद्युत सर्ट हुँदा घटना भएको अनुमान प्रहरीको छ । आगलागीको अनुसन्धान सुरु गरिएको एसपी कोइरालाले बताए ।


प्रतिक्रिया