आगलागीमा परेर ३ बालबालिकाको मृत्यु

Aadil Times 1+ समाचार ( )
७ मंगशिर २०७९

रौतहटको गौर नगरपालिका–१ स्थित माईस्थान चोकको एउटा कपडा पसलमा आगलागी हुँदा जलेर ३ जना बालबालिकाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको हो। आगोले जलेर ५ वर्षीया सबिना खातुन, ९ वर्षीया रुक्साना खातुन र ७ वर्षीय इमरान मन्सुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरु इस्लाम मियाँका छोरा–छोरी हुन् ।

रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार घटनामा परेर इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएका छन्। घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ। आगलागी हुँदा इस्लामको परिवारका १६ जना सदस्य सुतिरहेका थिए।

विद्युत सर्ट भएर कपडा पसलसँगै रहेको घरमा राखिएको कपासमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी बुढामगरले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया