मोरङको कटहरीमा आयोजना गरेको चुनावी सभामा प्रश्नकर्तामाथि कुटपिट

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

उम्मेदवारलाई प्रश्न गर्दा सत्ता गठबन्धनका समर्थकबाट कुटिएका शंकरकुमार साफी ।

सत्तारुढ गठबन्धनले मोरङको कटहरी गाउँपालिका–३ चम्राहीमा आयोजना गरेको चुनावी सभामा प्रश्नकर्तामाथि कुटपिट गरिएको छ ।

चम्राहीको मदरसामा बुधबार आयोजित चुनावी सभामा उम्मेदवारमाथि प्रश्न गर्ने २१ बर्से युवालाई लछारपछार पार्दै कुटपिट गरिएको हो । गठबन्धनका कार्यकर्ता र उम्मेदवारका समर्थकबाट कुटिएका युवा सुनसरीको कोसी गाउँपालिका–७ घर भई कटहरीमा डेरा बस्दै आएका शंकरकुमार साफी हुन् ।

कटहरीमा बस्दै आएका साफीले त्यहाँका ६० जना विद्यार्थीलाई दैनिक ट्यसन पढाउँदै आएका छन् । कटहरी–३ का वडाध्यक्ष जद्दुलाल कामतसहित सत्तारुढ गठबन्धनका ४/५ जनाले आफूमाथि कुटपिट गरेको साफीले बताए ।

सत्ता गठबन्धनको चुनावी सभामा मोरङको क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदी लगायत सहभागी थिए । मोदी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन् । सभालाई उनले सम्बोधन गरिसकेपछि साफीले ‘तपाईं १० वर्ष सांसद भएर आफ्नो क्षेत्रमा के के विकास गर्नु भयो ? भनेर प्रश्न सोधेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं माओवादी नेता मोदीलाई प्रश्न गर्नासाथ साफीमाथि कुटपिट गरिएको हो । प्रश्न सोधेको निहुँमा कुटपिट गरिएपछि सभा बिथोलिएको थियो । ‘मैले प्रश्न गर्नासाथ कुटपिट गर्न थाले । कार्यक्रमबाट बाहिर निकाले,’ साफी भन्छन्, ‘उनीहरुले फेरि प्रश्न गर्छस् भन्दै पिटिरहे । मैले गर्छु भनिदिएँ ।’

उम्मेदवारमाथि प्रश्न गर्न किन नपाउनु भनेर जिज्ञासा राख्दा आफूलाई लछारपछार पार्दै थप कुटपिट गरिएको गुनासो उनको छ । टाउको लगायत शरीरका विभिन्न भागमा मुक्का प्रहार गरिएको उनले बताए । कुटपिटका कारण कानमा समस्या भएको साफी सुनाउँछन् ।

घटनापछि चिया खान र गफ गर्न मोदीले गरेको आग्रहलाई उनले अस्वीकार गरिदिए । साफी विज्ञान संकायमा स्नातकको पढाइको तयारी गर्दैछन् । पटकपटक चुनाव जितेर पनि केही नगरेका उम्मेदवार र जनप्रतिनिधिमाथि प्रश्न गर्दा कुटाइ खानु दुर्भाग्यपूर्ण भएको गुनासो उनको छ ।

आफू यस्ता व्यक्तिलाई पुनः प्रश्न गर्न तयार रहेको उनले बताए । ‘जनताले जिताएर ठाएका र पुनः भोट माग्दै आएका जनप्रतिनिधिलाई यसअघि के काम गरेउ भनेर सोध्नै नपाउनू ? उनले उल्टै प्रश्न गरे ।

कुटपिटपछि सत्ता गठबन्धनका कार्यकर्ताले उनलाई सशस्त्र प्रहरीको जिम्मा लगाएका थिए । सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगायो । तर नियन्त्रणमा नराखिकन साफीलाई छाडिसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

‘घटना खासै ठूलो हैन । उम्मेदवार र जनप्रतिनिधिहरुलाई आमनागारिकले प्रश्न गर्छन् नै । तर प्रश्न गरेकै निहुँमा कुटपिट गर्नुपर्ने कुनै कारण थिएन,’ घटनास्थलमा रहेका एक जना सुरक्षाकर्मीले भने, ‘होहल्ला र कुटपिट हुन थालेपछि त्यहाँको अवस्था असामान्य हुने देखेर प्रश्नकर्तालाई नियन्त्रणमा लिँदै नेपाल प्रहरीको जिम्मा लगाइयो हो । त्यसपछि माहोल अलि साम्य भयो ।’

ती सुरक्षाकर्मीका अनुसार उम्मेदवारलाई प्रश्न गर्ने युवामा अलि बढी आक्रोश देखिन्थ्यो । ‘आक्रोशपूर्ण हिसाबले प्रश्न गर्नु आमनागरिकको असुन्तष्टि हो । प्रश्न गर्न नपाउने भन्ने त कुरै हुँदैन,’ उनले भने, ‘प्रश्नकर्ता कुनै पार्टीको मान्छे हो जस्तो लागेन । चुनावी सभाको सुरक्षाका हिसाबले पनि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आयो ।’ सुरक्षाकर्मीले नियन्त्रणमा नलिएको भए प्रश्नकर्तामाथि थप हमला हुने सम्भावना रहेको उनले बताए ।

कुटपिटको आरोप लागेका वडाध्यक्ष जद्दुलालले भने निर्वाचन आचारसंहिताले रोकेका कारणा आफू चुनावी सभामा सहभागी नै नभएको बताए । ‘होहल्ला हुन थालेको थाहा पाएर त्यहाँ पुगेको हुँ । बदनाम गराउने हिसाबले कुटपिट गरेको भनेर नाम जोडिएको छ,’ उनले भने, ‘विपक्षीले चुनावका बेला अनेक फण्डा निकाल्छन् । कार्यक्रममै नगएको मान्छेलाई कुटपिटमा संलग्न भएको आरोप लगाइयो ।’

उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीयले भने वडाध्यक्ष जद्दुलाल आचारसंहिताविपरीत चुनावी सभामै उपस्थित रहेको बताएका छन् ।

मदरसामा भएको अनौपचारिक कार्यक्रममा आएर प्रश्न गर्ने नाममा साफीले अनावश्यक प्रश्न गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेको मोदीका स्वकीय सचिव ताजिम अन्सारीले बताए । ‘प्रश्नकर्ता एमालेबाट परिचालित व्यक्ति हुन् । कार्यक्रमलाई असर पुर्याउन खोजेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए,’ उनले भने, ‘कुटपिट र लछारपछार भएको छैन । जनताले कुट्न खोज्दा हामीले रोकेका हौँ ।’

राम्रा र जिम्मेवार मान्छेहरु कार्यक्रममा उपस्थित भएकाले पनि कोही कसैमाथि कुटपिट हुने सम्भावना नरहेको अन्सारीको भनाइ छ ।

प्रतिक्रिया