मोरङको जहदामा पत्नीले गरिन् पतिको हत्या

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९


मोरङको जहदामा महिलाले बाम्फोक (दाउ) ले प्रहार गरेर आफ्नै पतिको हत्या गरेकी छन् ।

पति हत्याको आरोपमा प्रहरीले जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियालाई पक्राउ गरेको छ । हत्यामा प्रयोग गरिएको बाम्फोकसहित दवानीदेवीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार दवानीदेवीले आफ्नै पति ४२ वर्षीय सन्तोष सरबरियाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पारिवारिक विवादका क्रममा बाम्फोकले घाँटी र टाउकोमा प्रहार गरेर सन्तोषको हत्या गरिएको कोइरालाले बताए ।

धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई आफ्नै घरभित्र प्रहरीले गत शनिबार राति ११ः२० बजेतिर फेला पारेको थियो । बोल्नसमेत नसक्ने गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भयो ।

प्रहरीले सन्तोषमाथि हतियार प्रहार भएको आशंकामा पत्नी दवानीदेवीलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी स्रोतका अनुसार मदिराको नशामा आएर पतिले झगडा गर्न थालेपछि सहन नसकेर हतियारले हानेको उनले बताएकी छन् ।

स्थानीयका अनुसार मादक पदार्थ सेवन( मापसे)  गरेर पति–पत्नीबीच सधैँ झैझगडा हुने गरेको थियो । मृतकका ३ सन्तानमध्ये २ छोरा र १ छोरी छन् । उनीहरु १४ वर्ष मुनिका छन् ।

पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । सन्तोषको हत्यामा अरुको संलग्नता छ कि छैन भन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने एसपी कोइरालाले बताए ।

प्रतिक्रिया