उदय शमशेरको उम्मेदवारीले ललितपुरवासीमा खुशियाली, विकास हुने आशा

Aadil Times 1+ समाचार ( )
१७ कार्तिक २०७९

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक रुपमा आजदेखि घरदैलो अभियान सुरु भएको छ । निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला मत माग्नका लागि जनताको घरदैलोमा पुगेका छन् ।

राजधानी काठमाडौंसँग जोडिए पनि ललितपुरको क्षेत्र नम्बर १ सुगम छैन । यहाँका जनताहरुले अहिले पनि विकास निर्माण र पूर्वाधारका मागहरु उम्मेदवार सँग उठाउने गरेका छन् । देशमा भएका ६ वटा निर्वाचनमध्य ४ पटक एमाले, एक पटक माओवादी र एक पटक नेपाली कांग्रेसले ललितपुर क्षेत्र नम्बर १ बाट जित निकालेको छ ।

२०७० सालको संविधानसभा निर्वाचन जितेका नेपाली कांग्रेसका युवा नेता उदय शमसेर जवरा दोस्रो पटक चुनाव जित्ने लक्ष्यका साथ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । उनी अहिले प्रचार प्रसारका लागि केन्द्रीत भइसकेका छन् । घरदैलो अभियानकै क्रममा नेता उदयले क्षेत्र नम्बर १ को प्रदेशसभा ख बाट प्रचार प्रसार सुरु गरेका हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणा र प्रदेश सभा ख का उम्मेदवार राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीबाट घरदैलो अभियान सुरु गरे ।

यहाँ स्थानीय ६३ वर्षीय बृद्ध आमा धनमाया थापा मगरको हातबाट टीका ग्रहण गरेर अभियान सुरु गरेका हुन् । दुवै उम्मेदवारलाई टिका लगाउँदै बृद्धा धनमायाले भनिन् ‘विगतमा यो क्षेत्रमा एमालेले जितेर केही काम नगरेको र अब मंसिर ४ गतेको चुनावमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले जित निकाल्नु पर्छ ।

त्यसपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश सभा (ख )का उम्मेदवार मीनकृष्ण महर्जनले यो क्षेत्रको परिवर्तन अहिलेको लोकतान्त्रिक वाम गठबन्धनले मात्र सामाजिक, आर्थिक र विकासको परिवर्तन गर्ने भएकाले यस पटक आफू लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

यस्तै, प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय शमशेर राणाले यस क्षेत्रमा पूर्वाधार विकासको सँगसँगै जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत आवश्यकताहरु पूरा गर्न आफू कटिबद्ध रहने बताए । उनले आफू जितेर गएपछि ललितपुरको क्षेत्र नम्बर १ लाई भ्रष्टाचार मुक्त क्षेत्र वनाउनेसमेत प्रतिवद्घता जनाए ।

नेता राणाले विगतमा जितेकाहरूले यस क्षेत्रमा विकासको मुल थुनेको र आफू पराजित हुँदा पनि जनतासँग सुख दुःखमा संगै रहेको बताउँदै आफू जितेपछि २०७० सालदेखि २०७४ सालमा आफूले गरेका प्रतिवद्धताहरु पनि पूरा गर्ने प्रष्ट पारे ।

चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य गठबन्धन दलका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

ललितपुरका दुर्गम गाउँमा भेटघाटका कार्यक्रम सम्पन्न गरेर लोकतान्त्रिक वाम गठबन्धनले आजबाट काँठ क्षेत्रमा तालिका बनाएर चुनाव प्रचार प्रसार सुरु गरेको हो । सोही क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापमा पनि घरदैलो अभियान गरिएको छ ।

प्रतिक्रिया