सुक्खामा धुलाम्मे र वर्षामा हिलाम्मे हुलाकी सडक निर्माणलाई गति दिन मेयर नागेशको निर्देशन

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई मंगलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव १९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफलसमेत गरे । 

स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न प्रमुख कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । विसं २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो । तर, भूमि कन्ट्रक्सन निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए । 

छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इञ्जीनियर अर्जुन थापा, निर्माण कम्पनीका इञ्जीनियर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौलाको सहभागिता रहेको थियो । 

स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको साइट इन्चार्ज निरौलाले गुनासो गरे । उनले पश्चिमबाट काम सुरु भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगर प्रमुख कोइरालासँग आग्रह गरेका थिए । वर्षामा हिलाम्मे र सुक्खामा धुलाम्मे भएपछि स्थानीय जनताले निर्माणकार्यलाई दबाब बढाउन ढाट लगाउनुपरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया