सार्वजनिक निजी साझेदारीमा नगरबस चलाउने छलफल गर्दै महानगर

Aadil Times 1+ समाचार ( )
२१ पौष २०७९

विराटनगर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा नगर बस सञ्चालन गर्न इच्छा देखाएको छ । महानगर क्षेत्रका विभिन्न रुटमा सञ्चालन गर्ने गरी कम्तिमा १८ वटा बस चलाउन महानगरले प्रदेश सरकार र निजी क्षेत्रसँग समन्वय गरेर छलफल अगाडि बढाएको हो ।

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नगर बस सञ्चालन गर्ने प्रयोजनका लागि बजेट विनियोजन गरेको छैन । यद्यपि निजी क्षेत्रसँग साझेदारी गरेर बस सञ्चालन गर्न प्रदेश सरकारको पनि सहयोग अपेक्षा गरेको जनाएको छ । बस सञ्चालनका लागि महानगरपालिकाले कार्यविधि बनाउने मेयर नागेश कोइरालाले जानकारी दिए । उनले बस सेवा सञ्चालनका लागि प्रदेश लगानी बोर्डसँग पनि समन्वय गरिरहेको बताए । यो वर्ष महानगरको रुटमा कुद्ने गरी बस सञ्चालनको तयारी भएको उनले बताए । महानगरले वातानुकुलित बस सञ्चालन गर्ने उनले बताए ।

विराटनगरमा २०५४ साल पछि केही समय नगर बस सञ्चालन भएको थियो । तत्कालीन समयमा विराटनगर नगरपालिकाले निजी क्षेत्रका बस व्यवसायीहरुलाई इन्धन उपलब्ध गराएर नगर क्षेत्रमा बस सञ्चालन गरेको भएपनि प्रभावकारी हुन सकेको थिएन । नगर बस सञ्चालन गर्दा समय पालनामा अनिश्चितता हुँदा त्यतिबेला सेवा प्रभावकारी नभएको हो । इन्धन खर्च बढी हुने र जनताले सेवा नलिने अवस्था आएपछि नगर बस सञ्चालन बन्द भएको थियो ।

नगर बस सञ्चालन कार्यविधि बनाउँदा ‘ज्येष्ठ नागरिकहरुलाई निशुल्क यात्रा गराउने र महिला तथा विद्यार्थीलाई भाडामा सहुलियत दिने छौं,’ मेयर कोइरालाले भने । बस सञ्चालनका लागि रुट तयार भइसकेको उनले बताए । बस सञ्चालनका लागि महानगरपालिकासँग श्रीपदी ट्रेडिङले साझेदारी गर्ने प्रस्ताव गरेकोले छलफल भइरहेको मेयर कोइरालाले बताए ।


यो समाचार हाम्रोमत बाट साभार गरिएको छ । 

प्रतिक्रिया