विराटनगरमा संयुक्त बजार अनुगमन

Aadil Times 1+ समाचार ( )
विराटनगरमा संयुक्त बजार अनुगमन
२१ पौष २०७९

राजस्व चुहावट नियन्त्रण समिति मोरङले बजार अनुगमन थालेको छ । अनुगमनका क्रममा टोलीले उत्पादित मिति उल्लेख नभएको घर रंगाउने रङ र भन्सार नतिरी ल्याएका दैनिक उपभोगका सामग्री फेला पारी जफत गरेको छ ।

             जफत गरिएका सामानहरु मध्ये रङ वाणिज्य कार्यालयले जिम्मा लिई सम्बन्धित कम्पनी र व्यापारीलाई कार्वाही गर्ने भएको छ भने भन्सार नतिरी ल्याएका दैनिक उपभोगका सामग्री भने विराटनगर भन्सार कार्यालयले जिम्मा लिएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय विराटनगर, विराटनगरस्थित वाणिज्य कार्यालय , विराटनगर भन्सार कार्यालय , इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयका प्रतिनिधिहरु थिए । त्यसैगरी विराट व्यापार संघका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि थियो ।

      सो टोलीले हार्डवेयर पसल, किराना पसल, मदिरा पसल र कपडा पसलको अनुगमन गरेको थियो । भन्सार चोरी पैठारी नियन्त्रण गर्न बजार अनुगमन बढाइएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा.दिनबहादुर क्षेत्रीका अनुसार चोरी पैठारीलाई कडाइका साथ नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।

    यही पुस ७ गते राजस्व सचिव रामेश्वर दंगालको नेतृत्वमा केन्द्रीय अनुगमन समिति विराटनगर आएर चार घन्टा लामो बैठक गरी चोरी पैठारी नियन्त्रण गर्न कडा निर्देशन दिएको थियो । सो टोलीमा गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेल,आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली , राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल,सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशी दाहाल , नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक वसन्त कुवर सहितको सो टोलीले भन्सार नाकामा कडाइ गर्न कडा निर्देशन दिएको थियो ।

      त्यसैगरी नवनियुक्त अर्थ एवं उपप्रधानमन्त्री विष्णु पौडेलले पनि चोरी तस्करी रोकेर राजस्व संकलन बढाउन सम्बन्धित निकायहरुलाई कडा निर्देशन दिएका छन् । त्यसपछि राजस्व चुहावट नियन्त्रण समिति तातेको हो ।

प्रतिक्रिया