विराटनगर भन्सारको गस्ती टोलिले सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा

Aadil Times 1+ समाचार ( )
मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी...
३० कार्तिक २०७९

विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो ।

तस्करी भएर आएको मैदा औद्योगिक करिडोरका उद्योगमा बिक्री गर्ने गरेको खुलेको छ । भारतको सीमा क्षेत्रमा पर्ने सुनसरीको घुस्की नाकाबाट मैदा तस्करी गरेर नेपाल भित्र्याइएको थियो । भन्सार गस्ती टोलीले भारतीय नम्बरको कारसहित कारमा बसेका अवैध कारोबारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा को १ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक सुनसरीको हरिनगरा गाउँपालिका–७ का ३७ वर्ष का जमसेद आलम, सुनसरी हरिनगरा २ घर भई को २ त १३०३ नम्बरको ट्याक्टरका चालक वर्ष २२ का नाजिर खान, सुनसरीको हरिनगरा ७ का १८ वर्षीय असरफ अली छन् । अली चालक भएको मे १ त ७०५५ नम्बरको ट्याक्टर समेत परेको छ । हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँसहित उनले चलाएको को १ ख २३७६ नम्बरको मिनी ट्रक समेत नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका चारवटै साधनमा तस्करी भएर आएको मैदा लोड गरिएको थियो । यस्तै मैदा तस्करीमा संलग्न कार चालक भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवान हुन्। उनले डब्लु बी ०२ भी २३४० नम्बरको कार चलाएका थिए ।

विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पक्राउ गरिएका उनीहरुसँग बयान लिने काम सुरु भएको जानकारी दिएका छन् । गस्तीमा प्रमुख सापकोटाको नेतृत्वको टोलि गएको थियो । पक्राउ परेका पाँचैजना विरुद्ध भन्सार चोरी पैठारीको मुद्दा चलाईने भएको छ ।

पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छोडिने भएको छ । भारत सरकारले गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको अभावमा छन् । यिनै उद्योगमा बिक्री गर्नलाई भारतबाट मैदा तस्करी हुन थालेको हो ।


प्रतिक्रिया