विराट एक्स्पोको तयारी पूरा :स्थानीय उत्पादनलाई प्राथमिकता

Aadil Times 1+ समाचार ( )
१८ मंगशिर २०७९

मंसिर २९ देखि पुस ६ गतेसम्म हुने सातौँ संस्करणको कृषि तथा औद्योगिक प्रदर्शनी (विराट एक्स्पो २०७९) को तयारी पूरा भएको छ । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस को मैदान (पुरानो हवाई फिल्ड) मा प्रदर्शनी आयोजना हुनेछ ।

प्रदर्शनीस्थलमा आयोजकले आइतबार पत्रकार सम्मेलन गरी आन्तरिक तयारी पूरा भएको जानकारी दिएको हो ।

आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हो । यसका लागि ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारा तय गरिएको छ ।

विभिन्न संस्थाहरुसँगको सहकार्यमा उद्योग संगठन मोरङको आयोजनामा सञ्चालन हुने एक्स्पोमा ३६१ वटा स्टल रहने जनाइएको छ ।

यसैगरी पेभिलियनका ४ वटा स्टल रहने छन् भने प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमितिका ३४, औद्योगिक उत्पादनका ७५, कृषि तथा साना घरेलु एवं सूचनामूलक पक्षका ७५, नाडा र अटोमोबाइलका २० वटा र खाद्यतर्फ १० वटा स्टलहरू रहने छन् ।

एक्स्पो अवधिभरि तीनवटा माउन्टेन फ्लाइट गर्ने तयारी गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीनतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सबलीकरणका लागि एसियन फाउन्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन हुनेछ ।

यसैगरी प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । ‘थ्रिडी भर्चुअल टुर’ मार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफापोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिने जनाइएको छ ।

पर्यटकीय गन्तव्यबारे जानकारी, स्थानीय खाना उत्सव, दैनिक सांगीतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारका साथै स्थानीय कला संस्कृति पनि प्रस्तुत गरिने छ ।

एक्स्पोमा फेशन सो र विराट एक्स्पो सिंङ्गिङ आइडल प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगिताको लागि मंसिर २२ गतेबाट आवेदन खुल्ला गरिएको छ ।

एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेने छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ ।

एक्स्पो करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको प्याकुरेलले बताए ।

स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पुर्‍याउन सङ्गठनले २०५३ सालमा कोसी महोत्सवबाट सुरु गरेको हो ।

२०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरूप सङ्गठनले समयानुकूल परिमार्जन तथा परिष्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ ।

प्रतिक्रिया