कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त

Aadil Times 1+ समाचार ( )
७ फाल्गुन २०७९

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ ।

शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि गुरुङलाई सिइओ नियुक्त गरेको हो । गुरुङले सोमबार कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

कृषि विकास बैंकको सिइओ बन्न गुरुङसहित पाँच जनाले शनिबार अन्तर्वार्ता दिनुभएको थियो ।

गुरुङ सिभिल बैंकका पूर्वसिइओ हुनुहुन्छ । सिभिलपछि उहाँले पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओ भएर काम गरिरहनु भएको थियो । विदेशी बैंकको सिइओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुनुहुन्छ ।

नवनियुक्त सिइओ गुरुङसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गर्नुभएको थियो ।

गुरुङले हिमालयन बैंकमा साढे १० वर्ष काम गर्नुभयो । त्यसपछि उहाँ ग्लोबल आईएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गर्नुभयो । ग्लोबल आईएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उहाँ नायव महाप्रबन्धक पदमा तत्कालीन मेगा बैंक प्रवेश गर्नुभएको थियो । उहाँले मेगा बैंकमा साढे दुई वर्ष काम गर्नुभयो ।

त्यसपछि उहाँ सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सिइओ हुनुभयो । गुरुङ सोही बैंकको सिइओ समेत बन्नुभयो । उहाँले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याउनु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार