भारतीय राजश्वका अधिकारीसँग व्यापारका समस्याबारे छलफल

Aadil Times 1+ समाचार ( )
११ चैत्र २०७९

मोरङ व्यापार संघले सीमा नाका जोगबनीमा आएका भारत सरकारको राजस्व विभागका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका सदस्य सञ्जयकुमार अग्रवाल सहितको टोलीसँग भेटघाट गरि सीमा वारपार व्यापारका समस्याबारे छलफल भएको छ ।

अग्रवालसहित पटना भन्सार क्षेत्रका मुख्य आयुक्त (चिफ कमिश्नर) अजय सक्सेना र पटना भन्सारका प्रधान आयुक्त (प्रिन्सीपल कमिश्नर) श्री पीके कटियारको टोलीलाई एकीकृत जाँच चौकी (आई.सी.पी.), जोगबनीमा स्वागत गरी भेटघाट गरेको संघले जनाएको छ ।

संघका निर्वतमान अध्यक्ष प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, वाणिज्य उपाध्यक्ष अनिल कुमार साह, कार्यकारी सदस्यद्वय अमित सारडा र श्याम राठीसहितको टोली छलफलमा सहभागी थियो । 

संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले नेपालकै प्रथम उद्योग वाणिज्य संघको तर्फबाट स्वागत गर्न पाएकोमा हर्षित महसुस गरिरहेको बताउँदै मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि हाल खाँचो देखिएका केही आवश्यक व्यवस्थाबारे अवगत गराए ।

रेलमार्गबाट आई.सी.पी., जोगबनीसम्म बल्क कार्गो र कन्टेनरहरुको आवतजावतको व्यवस्था गरिनुपर्ने, नेपालका कृषि उत्पादन निर्यात गर्न आई.सी.पी, जोगबनीमा पीएफए टेस्ट ल्याब (परीक्षण प्रयोगशाला) र खाद्य क्वारेन्टाईन कार्यालय स्थापना गरी पोर्ट हेल्थ अफिसर नियुक्त गरिनुपर्ने, हाल जुट निर्यातमा प्रत्येक ट्रक पिच्छे अनिवार्य गरिएको ओजो सर्टिफिकेशनलाई सहज गरिनुपर्ने लगायतका सुझाव राठीले पेश गरे । 

कार्यक्रममा आई.सी.पी., जोगबनीका व्यवस्थापक रत्नाकर यादवले आ.सी.पी. , जोगबनीका गतिविधिहरुबारे अवगत गराएका थिए भने केही अन्य व्यवसायिक प्रतिष्ठानहरुले आ–आफ्ना सुझावहरु पेश गरेका थिए ।

प्रतिक्रिया