प्रहरीसँग झडप भएको कारण सांसदहरु होटलमा प्रवेश गर्न पाएनन्

Aadil Times 1+ समाचार ( )
१४ चैत्र २०७९

मोरङको विराटनगरस्थित होटेल बिगमा मंगलबार आयोजित एक कार्यक्रम पहिचान पक्षधरको आन्दोलन र त्यस क्रममा प्रहरीसँग भएको झडपको कारण स्थगित भएको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सांसदहरू सहभागी हुने भएपछि मंगलबार पहिचानवादीले होटेल आसपास प्रदर्शन गरेका थिए ।

यूएनडीपीको आयोजनामा हुने दुई दिने कार्यक्रममा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा र अर्थविज्ञ डा.स्वर्णिम वाग्ले सहभागी हुने तय भएको थियो ।

तर, कार्यक्रम सुरु हुनुअगावै पहिचानवादीले प्रदर्शन सुरु गरेपछि प्रहरीसँग झडप भएकोले सांसदहरु होटलमा प्रवेश गर्न नपाएकोले कार्यक्रम पनि स्थगित भएको छ ।

होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रदर्शनले उग्ररूप लिन थालेपछि प्रहरीले कैयौँ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनपछि कार्यक्रम स्थगित भएको छ ।

मोरङकै सुन्दरहरैँचाको विराटचोकस्थित नेपालइरिका होटेलमा राखिएको कार्यक्रम प्रदेश नम्बर–१ पुनः नामांकन संयुक्त संघर्ष समितिले होटल घेराउ गर्ने चेतावनी दिएपछि विराटनगरमा सारिएको थियो ।

विराटनगरमा पनि प्रदर्शनकारीले आन्दोलन चर्काएपछि कार्यक्रम स्थगित भएको हो ।

पुनः नामांकन संयुक्त संघर्ष समितिले कोसी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग गर्दै आन्दोलन गरिरहेको छ ।

यसैबीच कोसी प्रदेश नामाकरणविरुद्धका आन्दोलनकारीले मोरङकै उर्लाबारी नगरपालिका–६ का वडाध्यक्षमाथि कार्यलयमै कुटिपट गरेका छन् । प्रदेशका पालिका कार्यालयमा तालाबन्दी गर्ने क्रममा उनीमाथि कुटपिट भएको हो ।

प्रतिक्रिया