कारागारबाट भागेका कैदी १९ वर्षपछि पक्राउ

Aadil Times 1+ समाचार ( )
२४ वैशाख २०८०

१९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरि गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मीप्रसाद बुढा (लक्षीना) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले यही वैशाख २१ गते पक्राउ परेका बुढालाई बाँकी कैद कट्टा गर्नका लागि अदालतको आदेशानुसार कारागार चलान गरिएको आइतबार जानकारी दिए ।

बुढालाई विसं २०५९ फागुन १५ गते म्याग्दी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । विसं २०५७ फागुन १ देखि २०६० चैत ७ गतेसम्म तीन वर्ष दुई महिना सात दिन कैद भुक्तान गरेका थिए ।

उनले थप १७ वर्ष १० महिना २३ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । विसं २०६० चैत ७ गते भएको बेनी भिडन्तका क्रममा कारागारबाट भागेका बुढालाई विशेष सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया