मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट नेपाली कांग्रेसका केदार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
>
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएर विजयी बनेका कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । दोस्रोपटक निर्वाचन जित्दै प्रदेशसभाको यात्रा तय गरेका कार्कीले १० हजार ४५० मत प्राप्त गरे ।
>
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पर्शुराम बस्नेत (कृष्ण)ले ९ हजार २७३ मत ल्याए । कार्कीले बस्नेतलाई १ हजार १७७ मत अन्तरले पराजित गरेका हुन् ।
>
कार्की २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला ११ हजार २९८ मतका साथ कार्की विजयी हुँदा एमालेका रमेश पोखरेलले ८ हजार १२० मत मात्रै ल्याएका थिए ।
>
कार्कीसँग पराजय बेहोरेका बस्नेतले उनलाई बधाई दिँदै विभिन्न सुझावसहित कार्यकाल सफलताको शुभकामना दिए । मतगणनास्थल विराटनगरको आदर्श विद्यालयमा पुगेर बस्नेतले कार्कीलाई बधाई दिएका हुन् ।
>
टीका र माला लगाएर बधाई दिँदै उनले कार्कीलाई मतदाताको समस्या सम्बोधनमा केन्द्रित हुन आग्रह गरे । ‘अघिल्लो पटक जितेर गएपछि फर्किएर आएनन् भन्ने जनताको गुनासो थियो,’ कार्कीलाई बधाई दिँदै बस्नेतले भने, ‘आगामी दिनमा त्यस्ता गुनासा नआउने गरी मतदाताको पक्षमा काम गर्न आग्रह गर्छु ।’
>
मोरङ क्षेत्र नम्बर ६ ‘ख’मा विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएका छन् ।
>
>>