चेतावनीपछि कोशी अस्पतालको भवन निर्माणमा ठेकेदारले काम थाल्यो

Aadil Times 1+ समाचार ( )
३ माघ २०७९

ठेकेदार बेपत्ता हुँदा अलपत्र परेको विराटनगरस्थित कोशी अस्पतालको भवन निर्माण कार्य पुनः सुरु भएको छ ।अस्पतालको सर्जिकल ब्लक निर्माणको काम अलपत्र पारेर हिँडेको रमण-भूमि कन्स्ट्रक्सनले अस्पतालको निर्माण कार्य अघि बढाएको हो ।

अस्पतालभित्र ६ तले संरचनासहितको सर्जिकल ब्लक निर्माणको ठेक्का रमन-भूमि र बीआईपीएल जेभीलाई दिइएको थियो । संघीय आयोजना कार्यान्वयन इकाइले ६ पटक पत्राचार गर्दा पनि बीआईपीएल सम्पर्कमा नआएपछि बाँकी रहेका दुई निर्माण कम्पनीले काम अघि बढाएका हुन् ।

सम्झौता मितिमै निर्माण सम्पन्न गर्ने योजनाका साथ काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर अशोक कुमार रामले बताएका छन् । धरौटी जफत गर्ने तयारी गरेपछि रमण-भूमि कन्स्ट्रक्सन सम्पर्कमा आएको उनले बताए ।

निर्माण अधुरै छाडेर ठेकेदार बेपत्ता भएपछि संघीय आयोजना कार्यान्वयन इकाईले २०७९ साउन २६ गते पहिलोपटक निर्माण कम्पनीलाई काम ढिला गर्नुको जवाफ माग गर्दै पत्र काटेको थियो । कुनै जवाफ नआएपछि भदौ १५ मा दोस्रोपटक पत्र काटेर इकाईले काम सुचारु हुन नसक्नुको स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण मागेपछि सम्पर्कमा आएको निर्माण कम्पनीले भदौ अन्तिमदेखि असोज २५ गतेसम्म काम पनि गरेर पुनः सम्पर्कविहीन भएको थियो ।

कम्पनीलाई कात्तिक ४, १८, २७ र मंसिर १ मा समेत गरी जम्मा ६ पटक पत्र काटेर सार्वजनिक सूचना नै निकालेपछि मंसिर मसान्तमा बल्ल सम्पर्कमा आएको हो । कुल ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँमा ठेक्का लागेको अस्पतालको आकस्मिक कक्ष छेउको सर्जिकल ब्लक २०८० पौष २२ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।

निमार्णाधीन सर्जिकल ब्लक डाक्टर तथा अस्पतालका कर्मचारीहरूका लागि अण्डरग्राउण्ड पार्किङको सुविधासहितको हुनेछ । हाल बेसमेन्ट र सेरवालको काम सम्पन्न भइसकेको छ । त्यस बापत निर्माण कम्पनीले ५ करोड ६९ लाख ४४ हजार रुपैयाँ भुक्तानी पनि लगिसकेको छ ।

कोशी अस्पतालभित्र ओपीडी छेउमै १० तले संरचनासहितको ५ सय शय्याको मेडिकल ब्लक निर्माणको काम पनि सुरु भएको छ । पुस अन्तिम सातादेखि मेडिकल ब्लक निर्माणको काम सुरु भएको हो । कुल २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँको लागतमा भवन निर्माणको काम अघि बढाइएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

इकाईका अनुसार २०७९ पौष १३ गतेको सम्झौता अनुसार काठमाडौंको केसी कन्स्ट्रक्सन फर्मले भवन निर्माणको ठेक्का लिएको छ । २०८२ पुस १२ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता छ ।

अहिलेका पुराना संरचनालाई हटाएर नयाँ र अत्याधुनिक पूर्वाधारसहित ३५० शय्याको कोशी अस्पताललाई ५ सय शय्यामा रूपान्तरण गर्ने योजनाअनुरुप सरकारले अस्पताल विस्तारको कार्य अघि बढाएको हो । अस्पतालको सर्जिकल र मेडिकल दुवै ब्लक निर्माण भई सञ्चालनमा आएपछि बिरामीहरूको उपचारमा सहजता थप्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवले बताएका छन् ।

प्रतिक्रिया