दमकमा खुल्यो जग्गाको कित्ताकाट

Aadil Times 1+ समाचार ( )
२३ पौष २०७९

झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार पुस २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू–उपयोग कार्यविधि, २०७९ पारित गरेको छ ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न थालेको छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय दमकलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको उनले जानकारी दिइन् ।

दमकमा गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् । राजस्व समेत प्रभावित हुन पुगेको थियो ।

कार्यविधिअनुसार दुई दिनदेखि कित्ताकाटको काम सुरु गरिएको मालपोत कार्यालयका कर्मचारी मेदनी पोख्रेलले बताइन् । दमक नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई सहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्र वर्गीकरण गरिएको उल्लेख छ ।

प्रतिक्रिया