डिडिसीले प्रतिलिटर ११ रुपैयाँले बढायो दुधको मूल्य

Aadil Times 1+ समाचार ( )
२ चैत्र २०७९

दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्यमा भारी वृद्धि गरेको छ । डिडिसीले प्रतिलिटर दूधको मूल्य ११ रुपैयाँले बढाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । नयाँ मूल्य बिहीबारदेखि लागू हुने उनले बताए ।

अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम भएको छ । यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय संस्थानले जनाएको छ ।

‘संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको छ,’ झाले भने, ‘बढेको दूधको उपभोक्ता मूल्य बिहीबारदेखि लागू हुनेछ भने किसान मूल्य आजैदेखि कार्यान्वयनमा आउने निर्णय गरिएको छ ।’

महाप्रवन्धक झाका अनुसार दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने अहिले बढाइएको छैन । अर्को निर्णयबाट ती वस्तुको मूल्य बढाउने संस्थानले जनाएको छ ।

गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पु¥याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।

प्रतिक्रिया