दिल्ली प्रहरीले महरौली इलाकामा ६ महिनाअघि भएको एक हत्याको मामिला सुल्झाएको छ । यस मामिलामा लिभ इन पार्टनरको हत्या गरेको आरोपमा अफताब नामका व्यक्तिलाई पक्राउ गरिएको छ ।
>
आफताबले मे १८ मा आफ्नी लिभ इन पार्टनर श्रद्धाको हत्या गरी शवलाई विभिन्न ठाउँमा जङ्गलमा फालेको आरोप छ ।
>
दिल्ली प्रहरीका अनुसार आरोपी अफताब र युवती मुम्बईमा कामको क्रममा नजिक भएका थिए । उनीहरु एकअर्कालाई माया गर्थे तर यो सम्बन्धलाई लिएर परिवार रिसाएको थियो ।
>
प्रहरीका अनुसार युवतीको परिवार महाराष्ट्रको पालघरमा बस्छ । परिवारको असन्तुष्टिका कारण दुवै दिल्ली आएर छतरपुर क्षेत्रमा घर भाडामा लिएका थिए ।
>
युवतीले आफताबलाई विवाहका लागि दबाब दिन थालेपछि उनीहरुबीच झगडा हुन थालेको प्रहरीले जनाएको छ । १८ मेमा उनीहरुबीच विवाहको विषयलाई लिएर झगडा भएको थियो । रिसमा आफताबले युवतीको घाँटी थिचेर हत्या गरेका थिए ।
>
दिल्ली प्रहरीका अतिरिक्त डीसीपी (दक्षिण)अंकित चौहानले भने, ‘आफताबले हत्यापछि आफ्नी प्रेमिकाको शरीरलाई धेरै टुक्रा पारेको स्वीकार गरेका छन् । शवको दुर्गन्ध नआओस् भनेर उनले नयाँ ठूलो साइजको फ्रिज किनेर शवका टुक्रा राखे । बिस्तारै उनले राती सहरका विभिन्न इलाकाको जङ्गलमा शवका टुक्रा फालिदिन्थे ।’
>
एफआईआरमा के छ ?
>
बीबीसी मराठी सेवाका संवाददाता मयंक भागवतले प्रहरीबाट प्राप्त गरेको एफआईआरको प्रतिलिपिमा यस केससँग सम्बन्धित धेरै महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ ।
>
श्रद्धाका बुबाले प्रहरीलाई दिएको उजुरीमा आफ्नी श्रीमती र उनी केही वर्षअघि अलग भएको र उनी आफ्नी आमासँग महाराष्ट्रको पालघरमा बसिरहेको बताए ।
>
उनकी छोरी श्रद्धा सन् २०१८ मा मुम्बईको कल सेन्टरमा काम गर्थिन्, जहाँ उनको भेट आफताब पूनावाला नामका युवकसँग भयो ।
>
श्रद्धाका बुबाले भने, ‘सन् २०१९ मा श्रद्धाले आमालाई आफताबसँग लिभ इन रिलेशनमा बस्न चाहेको बताएकी थिइन् । तर मेरी श्रीमतीले अस्वीकार गरिन् किनभने हाम्रो अन्य धर्म र जातसँग विवाह चल्दैन । हामीले अस्वीकार गरेपछि छोरीले आफू २५ वर्ष पुगिसकेको र आफ्नो निर्णय आफैँले लिनसक्ने भइसकेको बताइन् ।’
>
यही विषयमा आमासँग झगडा भरेर श्रद्धाले घर छोडिन् र अफताबसँग बस्न थालिन् ।
>
एफआईआरमा भनिएको छ, ‘श्रद्धा र आफताब केही दिन नयाँ गाँउमा बसे र त्यसपछि वसई क्षेत्रमा गए । मेरी छोरीले बेलाबेला आफ्नी आमालाई फोन गर्थिन् र आफताबले आफूमाथि कुटपिट गर्ने गरेको बताउने गर्थिन् ।’
>
पिताको दाबी अनुसार श्रद्धा उनलाई भेट्न पनि आइन् र अगाडि बसेर आफ्नो समस्या सुनाए । त्यसपछि उनले श्रद्धालाई आफताबलाई छोड्न भनेका थिए तर आफताबले माफी मागेपछि उनी फर्किइन् ।
>
श्रद्धाका पिताले प्रहरीसँगको कुराकानीमा भने, ‘श्रद्धाले कुरा नमानेपछि मैले उनीसँग कुरा गर्न छोडेको थिएँ । तर सेप्टेम्बरमा श्रद्धाका एक साथीले उनका छोरालाई फोन गरेर करिब दुई महिनादेखि श्रद्धाको फोन स्वीच अफ भइरहेको बताए ।’
>
श्रद्धाबारे केही जानकारी नआएपछि उनका बुबाले महाराष्ट्रको माणिकपुर प्रहरी चौकीमा हराएको उजुरी दिए । एफआईआरमा उनले आफताबसँग श्रद्धाको सम्बन्धको पनि उल्लेख गरे र श्रद्धा बेपत्ता हुनुमा अफताबको हात हुनसक्ने आशंका पनि व्यक्त गरे ।
>
बाबुको उजुरीका आधारमा प्रहरीले आफताबको खोजी सुरु गरी अनुसन्धान थाल्यो ।
>
पक्राउपछि आफताबले सोधपुछका क्रममा उनीहरुबीच विवाहको विषयमा विवाद भएको र रिसका कारण हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
>
डेटिङ एपमा भेटेका थिए दुई
>
दिल्ली पुलिसका अतिरिक्त डीसीपी (दक्षिण) अंकितले भने, ‘जब केटीका बुबाले छोरीसँग सम्पर्क नभएपछि हराएको भन्ने थाहा पाए तब उनले मुम्बई पुलिसमा उजुरी दिए । मुम्बई प्रहरीको अनुसन्धानमा युवतीको अन्तिम लोकेशन दिल्लीमा रहेको पत्ता लागेको थियो । त्यसपछि युवतीको परिवारले दिल्लीको महरौली प्रहरी चौकीमा उजुरी दिएका थिए ।’
>
सोधपुछका क्रममा दुवैको भेट डेटिङ एपमार्फत भएको खुलेको छ । मुम्बईमा लिभ इनमा बस्दथे र दिल्ली आएर पनि सँगै बसेका थिए । दिल्लीमा बस्दा उनीहरुबीच झगडा हुन थाल्यो । उनीहरुबीच कुटपिट पनि हुने गर्दथ्यो ।’
>
सबै डिजिटल र वैज्ञानिक प्रमाण सङ्कलन गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले शवका टुक्राहरु राखिएको भनिएको फ्रिज पनि बरामद गरेको छ ।
>
अफताबको पहिचानका आधारमा महरौलीको जंगलबाट हड्डी फेला परेको प्रहरीले जनाएको छ ।
>
>>