आयोगले सार्वजनिक गर्‍यो तनहुँ- १ र बारा- २ को उपनिर्वाचन मिति

Aadil Times 1+ समाचार ( )
६ चैत्र २०७९

राष्ट्रपति र उपराष्ट्रपतिको कारण खाली भएको प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र २ मा उपनिर्वाचन गर्ने भएको हो ।

यसअघि नागरिकता विवादमा प्रतिनिधसभा सदस्य रवि लामिछाने पदमुक्त भएपछि आयोगले चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने तय गरेको थियो । तनहु क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा पनि सोहि मितिमा उपनिर्वाचन गर्ने निर्णय आयोगले गरेको हो ।

तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं. २ का रामसहाय प्रसाद याद उपराष्ट्रपति भएपछि दुबै क्षेत्र खाली भएको छ । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।

रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ । दुई क्षेत्रमा चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म दल दर्ता गर्ने समय उपलब्ध गराउने निर्णय आयोगले गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया