अढाइ लाख कर्मचारी निर्वाचनका लागि खटाइदै

Aadil Times 1+ समाचार ( )
२७ कार्तिक २०७९

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ। आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए। उनका अनुसार कारागारमा अस्थायी मतदान केन्द्र राखिने भएको छ।

यसपटक स्थानीय तहकोे तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगले माग गरे अनुसार आयोगलाई कर्मचारी पठाएको जनाएको छ। आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ। यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ। यसपटक शिक्षकहरूलाई समेत निर्वाचनमा खटाइएको सूचना अधिकारी अर्यालले बताए। गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो,भने एउटा मतदान केन्द्रमा ७ देखि ९ जना कर्मचारी खटाइएका थिए।

आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा यसपटक एउटा मतदान केन्द्रमा ९ देखि ११ जनासम्म कर्मचारी रहने भएका छन्। आयोगका अनुसार २ सय ५० मतदाता भएको मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृतसहित ९जना, २सय ५० देखि ५सय सम्म मतदाता भएको मतदान केन्द्रमा १ जना अधिकृत, एकजना सहायक अधिकृत सहित ११ जना कर्मचारी खटाउने व्यवस्था गरिएको छ। यसैगरी २ सय ५० मतदात भएको अस्थायी मतदान केन्द्रमा १जना अधिकृतसहित ४ जना, २ सय ५० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा १ जना अधिकृतसहित ५ जना कर्मचारी खटाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया