राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका आचारसंहिता भोलिदेखि लागू हुँदै

Aadil Times 1+ समाचार ( )
१६ फाल्गुन २०७९

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।

आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि  निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसदमा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

स्वीकृत कार्यक्रम बमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिनसक्ने र तत्पश्चात आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम  छ ।

उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

प्रतिक्रिया